काठमाडौं । नेपाली कांग्रेसले पार्टीका पदाधिकारीको संख्या बढाउने तयारी गरेको छ । भोलिदेखि काठमाडौंमा सुरु हुने पार्टीको १५औँ महाधिवेशनबाट विधान संशोधन गर्दै पदाधिकारी संख्या थप गर्ने तयारी गरिएको हो ।
महामन्त्री प्रदीप पौडेलको संयोजकत्वमा रहेको विधान संशोधन समितिले विधान संशोधनका विषयमा छलफल गरिरहेको छ । महाधिवेशनको बन्दसत्रमा पदाधिकारी संख्या बढाउने प्रस्ताव लैजाने तयारी रहेको कांग्रेसका एक पदाधिकारीले जानकारी दिए ।
उनका अनुसार उपसभापति, महामन्त्री र सहमहामन्त्रीको संख्या बढाउने विषयमा छलफल भइरहेको छ । हाल कांग्रेसको विधानमा एक सभापति, दुई उपसभापति, दुई महामन्त्री र विभिन्न क्लस्टरबाट आठ सहमहामन्त्री रहने व्यवस्था छ ।
ती पदाधिकारीका अनुसार उपसभापति र महामन्त्रीमा एक–एक जना थप गर्ने विषय करिब निश्चित भएको छ । नेताहरूको व्यवस्थापनलाई ध्यानमा राख्दै सहमहामन्त्रीको संख्या पनि बढाउने तयारी भइरहेको उनले बताए ।
‘विधान संशोधन समितिमा छलफल चलिरहेको छ । उपसभापति र महामन्त्री एक–एक जना थप हुने निश्चित भएको छ । नेताहरूको व्यवस्थापन गर्न चुनौती भएकाले सहमहामन्त्री पनि बढाउने तयारी छ । संख्या टुंगो लागेको छैन, चार–पाँच जनासम्म बढ्न सक्छ,’ उनले भने ।
कांग्रेस प्रवक्ता देवराज चालिसेले पनि पार्टीको आवश्यकताअनुसार महाधिवेशनबाट विधान संशोधन गरिने बताएका छन् ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन भोलि काठमाडौंमा हुँदैछ । महाधिवेशनबाट विधान संशोधनसहित पार्टीको आगामी नेतृत्व र सांगठनिक संरचनाबारे महत्वपूर्ण निर्णय हुने अपेक्षा गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया