म्याग्दी । गत साताको वर्षापछि आएको बाढीपहिरोका कारण अवरुद्ध बनेको चीन र भारत जोड्ने बेनी–जोमसोम–कोरला सडकको म्याग्दी खण्ड मर्मतमा इन्धन अभाव मुख्य चुनौती बनेको छ ।
असोज ८ देखि ११ गतेसम्म लगातार परेको वर्षापछि आएको बाढीपहिरोले पर्वतको मालढुङ्गादेखि मुस्ताङको घाँसासम्म करिब ५० किलोमिटर सडकखण्डमा ४६ भन्दा बढी ठाउँमा सडक अवरुद्ध भएको थियो ।
मुस्ताङतर्फबाट म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ्ग तातोपानी तथा पर्वतको मालढुङ्गाबाट म्याग्दीको राहुघाट खण्डमा मर्मतपछि एकतर्फी यातायात सञ्चालनमा आएको छ । तर, रघुगङ्गा गाउँपालिका–३ तिल्केनीचौरस्थित राहुघाट जलविद्युत् आयोजनाको विद्युत्गृह र स्विचयार्ड परिसरमा रहेको ‘ग्यान टिटावर’ हटाउन भएको ढिलाइ र मौजुदा इन्धन सकिएपछि सडक मर्मत प्रभावित भएको हो ।
बेनी–जोमसोम–कोरला सडक आयोजनाका प्रमुख तेजस्वी शर्माका अनुसार तिल्केनीचौर–पोखरेबगर खण्डमा पहिरो पन्छाउने, पहाड काट्ने तथा फिलिङ गर्ने काममा प्रयोग हुने डोजर, लोडर, ब्याकहो लोडर र टिप्पर सञ्चालनका लागि डिजेल अभाव भएको छ ।
‘तिल्केनीचौर–पोखरेबगर खण्डमा पहिरो पन्छाउने, पहाड काट्ने र फिलिङ गर्न डोजर, लोडर, ब्याकहो लोडर, टिप्पर चलाउन डिजेलको अभाव भएको छ,’ शर्माले भने, ‘तिल्केनीचौरमा टावर हटाउन भएको ढिलाइले दुई दिनदेखि सडक बनाउने काम प्रभावित बनेको छ ।’
उनका अनुसार मुस्ताङतर्फबाट इन्धन ढुवानीका लागि अन्तरजिल्ला समन्वय भइरहेको छ । टावर हटाउन राहुघाट जलविद्युत् आयोजनामार्फत माथिल्लो निकायमा पहल भइरहेको तथा उच्चस्तरीय टोलीले पहिरो प्रभावित सडकको निरीक्षण गरेर मर्मत कार्यमा सहजीकरण गरेको छ ।
रघुगङ्गा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीका अनुसार पिप्ले–भगवती–बेग हुँदै बेगखोला जोड्ने वैकल्पिक बाटो खुलाएर साना सवारी सञ्चालन तथा इन्धन ढुवानीका लागि काम भइरहेको छ ।
सडक विभागका महानिर्देशक डा.विजय जैसीसहितको प्राविधिक टोलीले शुक्रबार पहिरो प्रभावित सडकको निरीक्षण गरेको थियो । टोलीले सडक मर्मतका लागि स्रोतसाधनको अभाव हुन नदिने प्रतिबद्धता जनाएको छ ।
यता, राहुघाट जलविद्युत् आयोजनाका प्रमुख राजबहादुर विष्टले टावर हटाउने विषयमा आयोजनाको तहबाट निर्णय गर्न नसकिने भएकाले माथिल्लो निकायको स्वीकृति आवश्यक पर्ने बताएका छन् । उनले विषयको पूर्ण जानकारी नलिई सुरक्षाकर्मी परिचालन नगर्न सम्बन्धित निकायलाई आग्रह गरेका छन् ।
तिल्केनीचौरमा राहुघाट जलविद्युत् आयोजनाको विद्युत्गृहबाट पानी फाल्न बनाइएको ‘टेलरेस डक्ट’, सडक, निर्माण कम्पनीका उपकरण तथा क्याम्पमा बाढीले कटान गरी क्षति पुर्याएको छ । त्यस्तै राहुपारे, सिरुवारी, कुनौटा, महभिर, भिरकाटे, धिरच्याङ र रातोपानीमा सडक कटान भएको छ । पोखरेबगरस्थित सडक पुलको पहुँचमार्गसमेत बाढीले बगाएको छ ।
रसुवा र तातोपानी नाका बन्द भएपछि चीनसँगको व्यापारका लागि एक मात्र विकल्प बनेको कोरला नाकासँगको यातायात सम्पर्कसमेत सडक अवरुद्ध हुँदा टुटेको छ । मुख्य पर्यटकीय याममा सडक अवरुद्ध हुँदा पर्यटन गतिविधिसमेत प्रभावित भएकाले बेनी–जोमसोम–कोरला सडक खुलाउन सरकारले उच्च प्राथमिकता दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया