काठमाडौं । चाडपर्व, विपद् वा आपत्कालीन अवस्थाको मौका छोपेर यात्रुसँग स्वीकृतभन्दा बढी हवाई भाडा लिने वायुसेवा कम्पनीलाई १५ लाख रुपैयाँसम्म जरिवाना गर्ने व्यवस्था प्रस्ताव गरिएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणसम्बन्धी कानुन संशोधन तथा एकीकरण गर्न बनेको विधेयकमा यस्तो व्यवस्था प्रस्ताव गरिएको हो । प्रस्तावित विधेयकमा स्वीकृत भाडादरभन्दा बढी रकम लिएर उडान सञ्चालन गर्नुलाई कसुर मानिएको छ ।
विधेयकको दफा ४७ मा स्वीकृत भाडादरभन्दा बढी हवाई भाडा लिएर उडान सञ्चालन गर्ने कार्यलाई कसुरका रूपमा राखिएको छ ।
यस्तो कसुर गर्ने वायुसेवा सञ्चालक वा सम्बन्धित व्यक्तिलाई ५ लाखदेखि १५ लाख रुपैयाँसम्म जरिवाना गर्न सकिने व्यवस्था दफा ४८ मा प्रस्ताव गरिएको छ । जरिवाना गर्ने अधिकार प्राधिकरणका महानिर्देशकलाई दिने प्रस्ताव गरिएको छ ।
पहिलो पटक कारबाहीमा परेपछि पनि उही प्रकृतिको कसुर दोहोर्याएमा थप कडा कारबाही गर्ने व्यवस्था पनि प्रस्ताव गरिएको छ ।
विधेयकअनुसार एकपटक सजाय पाइसकेको व्यक्ति वा संस्थाले पुनः त्यही कसुर गरेमा अघिल्लो पटक तोकिएको जरिवानाको दोब्बर रकम जरिवाना गर्न सकिनेछ ।
विशेषगरी दसैं, तिहार, छठजस्ता चाडपर्वका बेला हवाई टिकटको माग बढ्ने गर्छ । त्यस्तै बाढी, पहिरो, सडक अवरोधलगायतका कारण स्थलमार्ग बन्द हुँदा पनि हवाई यात्रुको चाप बढ्ने गरेको छ । यस्तो अवस्थामा स्वीकृतभन्दा बढी भाडा लिने गुनासो आउने गरेको भन्दै सरकारले कानुनी व्यवस्था गर्न लागेको हो ।
प्रस्तावित कानुन लागू भएमा वायुसेवा कम्पनीले नेपाल नागरिक उड्डयन प्राधिकरणबाट स्वीकृत भएको भाडादरभन्दा बढी रकम यात्रुसँग लिन पाउने छैनन् ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विधेयकको मस्यौदामाथि सरोकारवालाबाट सुझावसमेत मागिसकेको छ । मन्त्रालयले २०८३ असार २४ गते सुझाव संकलनसम्बन्धी सूचना प्रकाशित गरेको थियो ।
तर, यो व्यवस्था अहिले प्रस्तावित मात्रै हो । विधेयक संसद्बाट पारित भएर कानुन बनेपछि मात्रै कार्यान्वयनमा आउनेछ । संसद्मा छलफलका क्रममा यसमा संशोधनसमेत हुन सक्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया