महानगरका पत्र अब हुलाकमार्फत पठाइने

लोकपथ
0
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाले विभिन्न निकाय तथा व्यक्तिलाई पठाउने पत्र तथा अन्य हुलाक वस्तु अब हुलाकमार्फत पठाउने भएको छ ।

महानगरपालिकाले गोश्वारा हुलाक कार्यालय डिल्लीबजारसँग सम्झौता गर्दै पत्र, प्रतिवेदन, निमन्त्रणा, प्रमाणपत्र तथा पार्सललगायत सामग्री हुलाकमार्फत पठाउने व्यवस्था गरेको हो ।

शुक्रबार महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्यालको रोहवरमा प्रशासन विभागका प्रमुख महेश काफ्ले र गोश्वारा हुलाक कार्यालयका प्रमुख हुलाक अधिकृत ढालबहादुर जिसीले सम्झौतामा हस्ताक्षर गरे ।

सम्झौताअनुसार महानगरपालिकाका विभाग, महाशाखा, सचिवालय, एकाइ र आयोजनाबाट पठाइने पत्र केन्द्रीय सम्पर्क एकाइमा संकलन गरिनेछ । त्यसपछि प्राप्तकर्ताको ठेगाना र सम्पर्क विवरणसहित हुलाक कार्यालयलाई बुझाइनेछ ।

हुलाक कार्यालयले ती सामग्रीलाई प्रणालीमा प्रविष्ट गरी वर्गीकरण गरेर सम्बन्धित व्यक्तिसम्म पुर्‍याउनेछ । वितरणपछि प्राप्त भर्पाई महानगरपालिकालाई उपलब्ध गराइनेछ भने सेवाबापतको मासिक बिल पनि पेश गरिनेछ ।

महानगरपालिका क्षेत्रभित्र अत्यन्त जरुरी पत्र तथा हुलाक वस्तुका लागि ‘सेम डे’ सेवा उपलब्ध हुनेछ । यस सेवामा बढीमा दुई किलोग्रामसम्मका सामग्री पठाउन सकिनेछ ।

त्यस्तै, दुई किलोग्रामसम्मका पत्र तथा सामानका लागि रजिस्ट्री सेवा र आवश्यकताअनुसार एक्सप्रेस मेल सर्भिस ९ईएमएस० तथा पार्सल सेवा प्रयोग गरिनेछ ।

‘सेम डे’ सेवाबाट पठाइएका सामग्री सामान्यतः सोही दिन वितरण गरिनेछ। रजिस्ट्री तथा पार्सल भने अर्को दिन वितरण गर्ने व्यवस्था गरिएको छ।

काठमाडौं महानगरबाहेक काठमाडौं जिल्लाका अन्य स्थानीय तह तथा ललितपुर र भक्तपुरमा रजिस्ट्री सेवामार्फत अर्को दिन हस्तान्तरण गरी सम्भव भएसम्म सोही दिन वा अर्को दिन वितरण गरिनेछ । अन्य जिल्लाका लागि भने नियमित हुलाक सेवाको तालिकाअनुसार सामग्री पठाइनेछ ।

सम्झौताअनुसार हुलाक वस्तु सुरक्षित राख्न महानगरपालिकाले उचित प्याकेजिङ गर्नुपर्नेछ । हुलाक कार्यालयले पनि प्राप्तिदेखि वितरणसम्म सावधानी अपनाउनुपर्नेछ ।

प्राप्तकर्ताले सामग्री बुझ्न नमानेमा वा वितरण हुन नसकेमा सम्बन्धित हुलाक वस्तु महानगरपालिकाको सम्पर्क एकाइमा फिर्ता गरिनेछ । यो सम्झौता एक वर्षका लागि गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?