सूर्यज्योति लाइफले ५० करोडको ‘अल्फा प्लस सूर्यज्योति फण्ड’ सञ्चालनमा ल्यायो

लोकपथ
0
Shares

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सले आफ्नो लाइफ फण्डलाई दीर्घकालीन तथा योजनाबद्ध रूपमा परिचालन गर्ने उद्देश्यले ‘अल्फा प्लस सूर्यज्योति फण्ड’ सञ्चालनमा ल्याएको छ ।

सूर्यज्योति लाइफ इन्स्योरेन्सले अल्फा प्लस भेन्चर्ससँगको सहकार्यमा उक्त फण्ड सञ्चालनमा ल्याएको हो । कम्पनीका अनुसार यस फण्डका लागि नेपाल धितोपत्र बोर्डबाट विशिष्टीकृत लगानी कोष नियमावली, २०७५ अन्तर्गत कोष दर्ता तथा निष्काशनको प्रमाणपत्रसमेत प्राप्त भएको छ ।

कोषको समग्र व्यवस्थापन तथा लगानी कार्यान्वयनको जिम्मेवारी कोष व्यवस्थापकका रूपमा अल्फा प्लस भेन्चर्सले सम्हाल्नेछ । यो अल्फा प्लस भेन्चर्सले कोष व्यवस्थापकका रूपमा सञ्चालनमा ल्याएको तेस्रो कोष हो । यसअघि कम्पनीले ५ अर्ब रुपैयाँ बराबरका दुईवटा कोष सञ्चालनमा ल्याई व्यवस्थापन गर्दै आएको जनाएको छ ।

सूर्यज्योति लाइफका अनुसार नेपाली बीमा क्षेत्रमा आफ्नै नाममा विशेष फण्ड सञ्चालन गर्ने यो पहल पहिलोपटक हो । ५० करोड रुपैयाँ आकारको उक्त कोषमार्फत दीर्घकालीन तथा योजनाबद्ध लगानीका लागि नयाँ अवसर सिर्जना गरिने कम्पनीले जनाएको छ ।

फण्डले उत्पादन तथा प्रशोधन, ऊर्जा तथा जलविद्युत्, वित्तीय तथा लगानी सेवा, ई–कमर्स तथा सूचना प्रविधि, पर्यटन तथा मनोरञ्जन, स्वास्थ्य तथा वेलनेस, रियल इस्टेट, पूर्वाधार विकास, कृषि, होटल तथा रेष्टुरेन्ट तथा खनिज उत्खनन र प्रशोधनलगायतका क्षेत्रमा लगानीका अवसर पहिचान गर्नेछ ।

त्यस्तै, लगानी समिति तथा स्वीकृत लगानी नीतिअनुसार प्रचलित कानूनले निषेध नगरेका अन्य सम्भावनायुक्त निजी क्षेत्रका क्षेत्रमा समेत लगानी गर्न सकिने व्यवस्था रहेको छ ।

कम्पनीका अनुसार ५० करोड रुपैयाँको आकारमा सञ्चालनमा आएको यस फण्डले सूर्यज्योति लाइफको लगानी पोर्टफोलियो विस्तार गर्नुका साथै कम्पनीको दीर्घकालीन वित्तीय रणनीतिलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ ।

सूर्यज्योति लाइफले बीमित, अभिकर्ता तथा अन्य सरोकारवालाको हितलाई केन्द्रमा राख्दै दीर्घकालीन वित्तीय स्थायित्व, पारदर्शिता र जिम्मेवार लगानी अभ्यासलाई प्राथमिकता दिँदै आएको जनाएको छ । ‘अल्फा प्लस सूर्यज्योति फण्ड’ पनि सोही उद्देश्यअनुरूप अघि बढाइएको कम्पनीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?