कला, संस्कृति र नेवारी भाषाको संरक्षणका लागि कानून बनाउन पहल गर्छु : सभामुख अर्याल

लोकपथ
0
Shares

काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले ललितपुरको कला, संस्कृति, सम्पदा र नेवारी भाषाको संरक्षणका लागि आवश्यक कानून निर्माणमा पहल गर्ने बताएका छन् ।

ललितपुरमा शनिबार आयोजित कार्यक्रममा बोल्दै सभामुख अर्यालले सम्पदा, संस्कृति, मठमन्दिर तथा भाषाको संरक्षणका लागि राज्यले आवश्यक कानुनी व्यवस्था गर्नुपर्ने बताएका हुन् ।

उनले अग्रजहरूले छाडेर गएका सम्पदा र संस्कृतिको संरक्षण गर्दै नयाँ पुस्तालाई हस्तान्तरण गर्नुपर्नेमा जोड दिए । ललितपुरका स्थानीय समुदायका समस्या र सुझावलाई आफूले कानुन निर्माण गर्ने तहसम्म पुर्‍याउन प्रयास गर्ने उनको भनाइ थियो ।

सभामुख अर्यालले आफू सामान्य नागरिक भएकाले स्थानीय समुदायसँग प्रत्यक्ष संवाद गर्न सधैँ तयार रहेको बताए । उनले स्थानीय समुदायका दुःख–सुख र आवश्यकतालाई बुझेर त्यसलाई कानुन निर्माणको प्रक्रियामा समेट्न पहल गर्ने प्रतिबद्धता जनाए ।

मुलुक निर्माणमा नेवारी समुदायको महत्वपूर्ण योगदान रहेको उल्लेख गर्दै उनले देशको माटो र संस्कृतिसँग नेवारी तथा थारु समुदायको गहिरो सम्बन्ध रहेको बताए । विभिन्न राजनीतिक आन्दोलनमा समेत नेवारी समुदायको महत्वपूर्ण योगदान रहेको उनको भनाइ थियो ।

‘ललितपुर संस्कृति, सम्पदा र मन्दिरमा भगवानका लागि मात्रै धनी होइन । देश निर्माण गर्न, सम्पदा र संस्कृति जोगाउन तथा नेवारी भाषालाई संरक्षण गर्न यहाँहरूको ठूलो देन छ,’ उनले भने, ‘देशको माटोलाई सबैभन्दा बढी कसैले चिनेको छ भने सायद नेवारी र थारु समुदायले चिनेको छ ।’

सभामुख अर्यालले आफू धादिङमा जन्मिएको र काठमाडौं आएपछि केही वर्ष ललितपुरको पाटनढोकामा बसेको स्मरण गर्दै ललितपुरसँग आफ्नो छुट्टै सम्बन्ध रहेको बताए ।

ललितपुरवासीको माया र आशीर्वादकै कारण आफूले व्यवस्थापिकाको नेतृत्व गर्ने अवसर पाएको उल्लेख गर्दै उनले आफू जनताको ‘कारिन्दा’ र ‘कामदार’का रूपमा जिम्मेवारी पूरा गर्न प्रतिबद्ध रहेको बताए ।

‘हाम्रा छोराछोरीको भविष्य निर्माणका लागि यो देशमा धेरै काम गर्न बाँकी छ । हाम्रा अग्रजहरूले छाडेर जानुभएका सम्पदा, संस्कृति, मठमन्दिरलाई जोगाएर राख्न विभिन्न कानुन निर्माण गर्नुपर्नेछ,’ उनले भने ।

सभामुख अर्यालले ललितपुरको नेवारी संस्कृति र खानाप्रति आफ्नो रुचिसमेत व्यक्त गरे । संग्रहालय तथा सम्पदाको अवलोकनसँगै नेवारी खाना खानका लागि पनि ललितपुर जानुपर्ने उनको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?