मेरोअटो राइडको चौथो संस्करण असोज १६ गते, काठमाडौं-गोरखा रुटमा हुने

लोकपथ
0
Shares

काठमाडौं । मेरोअटो राइड ४.० (चौथो संस्करण) असोज १६ गते शुक्रबार आयोजना हुने भएको छ ।

विश्व पर्यटन दिवसको अवसरमा अटोमोटिभ्स प्रालिले काठमाडौंको नेपाल पर्यटन बोर्डदेखि ऐतिहासिक गोरखा दरबारसम्म राइड आयोजना गर्न लागेको हो ।

राइड बिहान ८ बजे नेपाल पर्यटन बोर्डबाट सुरु हुनेछ । राइड सितापाइला–धार्के–गल्छी–मुग्लिन–आबुखैरेनी हुँदै गोरखा पुगेर समापन हुनेछ ।

राइडका क्रममा विभिन्न मनोरञ्जनात्मक तथा खेलकुद गतिविधि पनि आयोजना गरिने आयोजकले जनाएको छ । मुग्लिनमा टोटल इनर्जीले राइडरहरूका लागि केयर क्याम्पसमेत सञ्चालन गर्नेछ ।

अटोमोटिभ्स प्रालिका प्रबन्ध निर्देशक हरिप्रसाद गजुरेलले आन्तरिक पर्यटन प्रवद्र्धन, राइडिङ संस्कृतिको विकास र राइडरहरूबीच भाइचारा बढाउने उद्देश्यले राइड आयोजना गरिएको बताए ।

‘हामीले विगत चार वर्षदेखि लगातार राइड आयोजना गर्दै आएका छौं । आन्तरिक पर्यटन प्रवद्र्धन, राइडिङ संस्कृति विकास र राइडरहरूबीच भाइचारा बढाउनु यसको मुख्य उद्देश्य हो,’ उनले भने ।

उनका अनुसार मेरोअटो राइडलाई आगामी वर्षहरूमा पनि निरन्तरता दिइनेछ ।

राइडको मुख्य प्रायोजक टोटल इनर्जी रहेको छ । यस्तै, सिएट टायर पावर्ड बाइ तथा रोयल इन्फिल्ड, हिरो, यामाहा, होन्डा, बजाज र मोर्बिडेली सपोर्टेड बाइ रहेका छन् ।

मेरोअटो राइड विगत चार वर्षदेखि आयोजना हुँदै आएको छ । पहिलो संस्करण २०८० मा सोलुखुम्बुको पताले, दोस्रो संस्करण २०८१ मा रसुवाको ब्राबल र तेस्रो संस्करण गत वर्ष दोलखाको खरिढुंगामा आयोजना गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?