लगातारको वर्षा र बाढीपहिरोले नेपाल टेलिकमको सञ्चार सेवा प्रभावित

लोकपथ
56
Shares

काठमाडौं । लगातारको वर्षा, हावाहुरी र बाढीपहिरोका कारण नेपाल टेलिकमको सञ्चार सेवा प्रभावित भएको छ ।

गत असोज ८ गतेदेखि आएको विपद्का कारण टेलिकमका विभिन्न पूर्वाधारमा क्षति पुगेपछि धेरै ठाउँमा दूरसञ्चार सेवा अवरुद्ध भएको कम्पनीले जनाएको छ ।

भारी वर्षा र पहिरोका कारण सडक अवरुद्ध हुँदा प्राविधिक टोलीलाई प्रभावित क्षेत्रमा पुग्न समस्या भएको छ । यस्तै, अप्टिकल फाइबरमा क्षति पुग्नु र विद्युत् आपूर्ति बन्द हुँदा पनि सेवा सञ्चालनमा समस्या आएको टेलिकमले जनाएको छ ।

लगातारको वर्षा, बाक्लो बादल र हिमपातका कारण सोलारबाट सञ्चालन हुने टावरहरूले समेत पूर्ण क्षमतामा काम गर्न सकेका छैनन् ।

टेलिकमका अनुसार प्राविधिक रूपमा प्रणालीबाट गर्न सकिने मर्मतको काम भने निरन्तर भइरहेको छ । मौसममा सुधार हुनेबित्तिकै प्रभावित क्षेत्रमा पुगेर सेवा मर्मत गर्न प्राविधिक टोलीलाई तयारी अवस्थामा राखिएको छ ।

कम्पनीले विपद्को अवस्थामा सेवाग्राहीले देखाएको धैर्यताप्रति आभार व्यक्त गरेको छ । साथै, सेवा अवरुद्ध हुँदा परेको असुविधाप्रति क्षमा माग्दै यथाशीघ्र सेवा सुचारु गर्न काम भइरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?