बागलुङ । अविरल वर्षासँगै कालीगण्डकी नदीमा पानीको बहाव उल्लेख्य रूपमा बढेको छ । नदीको बहाव बढेपछि बागलुङ, पर्वत र म्याग्दीका तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको छ ।
मुस्ताङतर्फबाट लेदोसहितको बाढी कालीगण्डकीमा मिसिएपछि नदीको बहाव बढिरहेको प्रहरीले जनाएको छ । नदी किनार तथा जोखिमयुक्त क्षेत्रमा नजान र सुरक्षित स्थानमा बस्न सर्वसाधारणलाई आग्रह गरिएको छ ।
बागलुङ, पर्वत र म्याग्दी प्रहरीले तटीय क्षेत्रमा माइकिङ गर्दै स्थानीयलाई सतर्क रहन आग्रह गरिरहेका छन् ।
प्रशासनले म्याग्दीको बेनी तथा बागलुङको नियरघाट, मालढुंगालगायत कालीगण्डकी आसपासका बस्तीका नागरिकलाई विशेष सावधानी अपनाउन र सुरक्षित स्थानमा बस्न आग्रह गरेको छ ।
शनिबार असोज १० गते बिहानदेखि कालीगण्डकीको पानीको सतह अघिल्लो दिनको तुलनामा थप बढेको छ । पर्वतको मोदीवेणीमा मोदी र कालीगण्डकी नदी मिसिने स्थानमा नदीको बहाव चेतावनी तह पार गरेको छ ।
कालीगण्डकी बहने अन्य स्थानमा जलसतह चेतावनी तहभन्दा तल रहे पनि निरन्तर बढिरहेको जनाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया