सप्तकोशीमा पानीको बहाव बढ्यो, कोशी ब्यारेजका ४३ ढोका खोलिए

लोकपथ
0
Shares

काठमाडौं । लगातारको वर्षाका कारण सप्तकोशी नदीमा पानीको बहाव बढेपछि कोशी ब्यारेजका ४३ वटा ढोका खोलिएका छन् ।

शनिबार बिहान ६ बजेपछि गरिएको मापनअनुसार कोशी ब्यारेजमा पानीको बहाव प्रतिसेकेन्ड ३ लाख १६ हजार ७ सय ९५ क्युसेक पुगेको छ । पानीको सतह बढ्दै गएपछि ४३ वटा ढोका खोलिएको हो ।

यसअघि शुक्रबार बिहान १० बजे पानीको बहाव १ लाख ९८ हजार २ सय २० क्युसेक हुँदा २५ वटा ढोका खोलिएका थिए । दिउँसो १ बजे बहाव २ लाख २९ हजार ९ सय ६० क्युसेक पुगेपछि ३० वटा ढोका खोलिएको थियो । यस्तै, दिउँसो २ बजे बहाव २ लाख ४० हजार ५ सय ५५ क्युसेक पुगेपछि ३१ वटा ढोका खोलिएको थियो ।

कोशी ब्यारेजमा पानीको बहाव बढेपछि सर्वसाधारणलाई जोखिमबारे जानकारी गराउन पश्चिमतर्फ रातो बत्ती बालिएको छ ।

नदीमा पानीको बहाव अझै बढ्न सक्ने भएकाले सप्तकोशी आसपासका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ । तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सुरक्षित स्थानमा रहन तथा कोशी नदीमा माछा मार्ने र दाउरा संकलन नगर्न जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ ।

वर्षा जारी रहेकाले नदीमा पानीको बहाव थप बढ्न सक्ने बताइएको छ । कोशी ब्यारेजमा ५२ वटा मूल ढोका र ४ वटा नहर गरी जम्मा ५६ वटा ढोका रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?