दुई दिनको अविरल वर्षापछि काठमाडौंको मौसममा सुधार, जनजीवन सामान्य बन्दै

लोकपथ
56
Shares

काठमाडौं । दुई दिनदेखिको अविरल वर्षापछि काठमाडौं उपत्यकाको मौसममा शनिबार बिहानदेखि सुधार आएको छ ।

वर्षा रोकिएर आकाश खुल्न थालेसँगै ठप्पप्रायः रहेको उपत्यकाको जनजीवन र चहलपहल पुनः सामान्य बन्दै गएको छ ।

बिहीबार र शुक्रबार देशका अधिकांश स्थानमा भएको भारी वर्षाले काठमाडौं उपत्यकासहित आसपासका क्षेत्रमा जनजीवन प्रभावित भएको थियो । निरन्तरको वर्षाका कारण सडक आवतजावत, दैनिक कामकाज तथा व्यापार–व्यवसायमा समेत असर परेको थियो ।

शनिबार बिहानदेखि वर्षा रोकिएर घाम लाग्न थालेपछि सर्वसाधारणले केही सहजता महसुस गरेका छन्। यद्यपि, मौसम पूर्णरूपमा स्थिर भइसकेको छैन ।

जल तथा मौसम विज्ञान विभागका अनुसार केही स्थानमा अझै छिटपुट वर्षाको सम्भावना रहेको छ । पछिल्लो दुई दिनको वर्षाका कारण जमिन गलिसकेकाले नदी तथा खोलानालाको बहावमा परिवर्तन आउन सक्ने भन्दै विभागले सतर्कता अपनाउन आग्रह गरेको छ ।

विशेषगरी नदी तटीय क्षेत्र तथा पहिरोको उच्च जोखिम भएका स्थानमा बसोबास गर्नेहरूलाई सावधानी अपनाउन विभागले अनुरोध गरेको छ ।

विभागले आगामी केही दिनसम्म मौसम पूर्वानुमान महाशाखाले जारी गर्ने सूचनालाई आधार बनाएर दैनिक गतिविधि गर्न आग्रह गरेको छ। पूर्वबाट पश्चिमतर्फ वर्षा गराउने प्रणाली सरेकाले पश्चिमी क्षेत्रमा समेत आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?