१३ देशका प्रस्तावित राजदूतविरुद्ध उजुरी आह्वान

लोकपथ
0
Shares

काठमाडौं । नेपाल सरकारले १३ देशका लागि राजदूत नियुक्त गर्न सिफारिस गरेका व्यक्तिहरूविरुद्ध उजुरी भए प्रमाणसहित पेस गर्न संसदीय सुनुवाइ समितिले आह्वान गरेको छ ।

समितिले शनिबार सार्वजनिक गरेको सूचनामा प्रस्तावित राजदूत नियुक्तिका लागि उपयुक्त नभएको लागेमा त्यसको स्पष्ट आधार र प्रमाणसहित उजुरी दिन सकिने जनाएको छ ।

सूचना प्रकाशित भएको मितिले १० दिनभित्र सङ्घीय संसद् सचिवालय वा सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा उजुरी दिन सकिनेछ । उजुरी गर्दा प्रस्तावित राजदूतको नाम, ठेगाना, पद तथा उजुरीको स्पष्ट आधार खुलाउन समितिले आग्रह गरेको छ ।

समितिको असोज ८ गते बसेको बैठकले प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ प्रक्रिया अघि बढाउने निर्णय गरेको थियो ।

मन्त्रिपरिषद्को असोज २ गतेको निर्णयअनुसार भारतका लागि डा.निश्चलनाथ पाण्डे, चीनका लागि डा. कल्याणराज शर्मा, संयुक्त राज्य अमेरिकाका लागि चिरनजङ्ग थापा, बेलायतका लागि गौरवशमशेर जङ्गबहादुर राणा र जर्मनीका लागि सरू जोशीलाई राजदूतमा सिफारिस गरिएको छ ।

त्यस्तै, इजरायलका लागि सुरेशकुमार कर्ण, स्पेनका लागि प्राप्ति शेरचन, जापानका लागि जिज्ञानकुमार थापा, ओमानका लागि डा। पदमाक्षी राणा, मलेसियाका लागि चूडामणि खरेल, दक्षिण कोरियाका लागि प्राडा। सङ्गम श्रेष्ठ, श्रीलङ्काका लागि डा। मञ्चलाकुमारी झा र साउदी अरेबियाका लागि गिरीबहादुर सुनारलाई सिफारिस गरिएको छ ।

प्रस्तावित राजदूतविरुद्ध प्राप्त उजुरीमाथि आवश्यक प्रक्रिया पूरा गरेपछि संसदीय सुनुवाइ गरिने समितिले जनाएको छ । सुनुवाइपछि राजदूत नियुक्तिको प्रक्रिया अघि बढ्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?