काठमाडौं । जल तथा मौसम विज्ञान विभागले मौसममा सुधार नआएसम्म किसानलाई धान नकाट्न आग्रह गरेको छ ।
देशका विभिन्न भागमा जारी अविरल वर्षाका कारण बाढी र पहिरोको जोखिम बढेकाले विभागले सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको हो ।
विभागका मौसमविद् रोजन लामिछानेले हालको प्रतिकूल मौसममा हतार गरेर धान काट्दा बालीसँगै जनधनको समेत क्षति हुनसक्ने भन्दै मौसम खुलेपछि मात्र धान काट्ने योजना बनाउन किसानलाई सुझाव दिएका छन् ।
न्युज एजेन्सी नेपालसँग कुरा गर्दै लामिछानेले पूर्वी भूभागमा मौसम क्रमिक रूपमा सुधार हुँदै गए पनि पश्चिमी क्षेत्रमा भने भोलि दिउँसोसम्म वर्षाको प्रभाव रहने बताए । उनका अनुसार पश्चिमी क्षेत्रमा पछिल्ला ३–४ दिनदेखि लगातार वर्षा भइरहेकाले थप वर्षाको सम्भावना रहेको र ती क्षेत्रमा जोखिम अझै बढी छ ।
उनले जमिन चिरा परेको वा सानो पहिरो देखिएको स्थानमा जोखिम उच्च हुने भन्दै त्यस्ता क्षेत्रका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा सर्न र छिमेकीलाई समेत सचेत गराउन आग्रह गरे ।
त्यस्तै, नदी तथा खोला किनारमा बसोबास गर्ने समुदायलाई जलसतह बढ्न सक्ने भएकाले थप सजग रहन विभागले आग्रह गरेको छ । स्थानीय प्रशासन र प्रहरीले गर्ने माइकिङ तथा साइरनलाई बेवास्ता नगर्न पनि विभागले अनुरोध गरेको छ ।
विपद्का समयमा सूचनाको पहुँच महत्वपूर्ण हुने भएकाले सर्वसाधारणलाई मौसमसम्बन्धी पछिल्लो जानकारी नियमित रूपमा हेर्न विभागले आग्रह गरेको छ । मौसमसम्बन्धी जिज्ञासा वा सूचनाका लागि विभागको टोल फ्री नम्बर ११५५ मा सम्पर्क गर्न सकिने जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया