काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाललाई एसियाको आर्थिक, डिजिटल र रणनीतिक ‘ब्रिज’ का रूपमा विकास गर्नुपर्ने बताएका छन् ।
न्युयोर्कमा एसिया सोसाइटीले आयोजना गरेको ‘एसियाको उदाउँदो शताब्दीमा नेपालको भविष्यको मार्गदर्शन’ विषयक कार्यक्रममा बोल्दै मन्त्री खनालले नेपालको भौगोलिक अवस्थालाई चुनौतीका रूपमा नभई अवसरका रूपमा लिनुपर्ने बताए ।
उनले नेपाललाई परम्परागत रूपमा ‘सानो मुलुक’ भनेर हेर्ने दृष्टिकोण परिवर्तन गर्नुपर्नेमा जोड दिए । ‘नेपाल सानो होइन। नेपाल रणनीतिक रूपमा सही स्थानमा छ,‘उनले भने ।
उनले नेपालका ठूला छिमेकीको भौगोलिक आकार नेपालको महत्त्वाकांक्षाको सीमा बन्न नहुने बताए । नेपालले दुई ठूला छिमेकीबीच कसरी टिक्ने भन्नेभन्दा उनीहरूबीच र उनीहरूभन्दा बाहिर कसरी आर्थिक मूल्य सिर्जना गर्ने भन्नेमा ध्यान दिनुपर्ने उनको भनाइ थियो ।
हालैको बाढीलाई ‘हिमालयन सुनामी’ को संज्ञा दिँदै मन्त्री खनालले जलवायु परिवर्तनलाई नेपालको परराष्ट्र नीतिको रणनीतिक प्राथमिकता बनाउनुपर्ने बताए । उनले प्रभावकारी पूर्वसूचना प्रणाली, जलसम्बन्धी तथ्याङ्क आदानप्रदान, जलवायु वित्त तथा छिमेकी र अन्तर्राष्ट्रिय समुदायसँग सहकार्यलाई प्राथमिकता दिनुपर्ने बताए ।
खनालले एसियाको बढ्दो आर्थिक प्रभाव नेपालका लागि महत्वपूर्ण अवसर भएको बताए । विश्वको करिब ६० प्रतिशत जनसङ्ख्या एसियामा रहेको उल्लेख गर्दै उनले काठमाडौंलाई एसियाको आर्थिक तथा सामाजिक रूपान्तरणको महत्वपूर्ण केन्द्रका रूपमा विकास गर्न सकिने बताए ।
उनले गौतम बुद्धको जन्मस्थल लुम्बिनी तथा अरनिको र भृकुटीजस्ता ऐतिहासिक व्यक्तित्वका कारण नेपाल एसियाली सभ्यता र संस्कृतिको महत्वपूर्ण सम्पर्कस्थल रहेको बताए । उनका अनुसार क्षेत्रीय सम्पर्क विस्तारले नेपालमा आर्थिक समृद्धिको अवसर सिर्जना गर्न सक्छ ।
मन्त्री खनालले नेपालको जलविद्युत् उत्पादनलाई क्षेत्रीय आर्थिक विकाससँग जोड्न सकिने बताए । नेपालबाट उत्पादित स्वच्छ विद्युत् भारत हुँदै बङ्गलादेशसम्म निर्यात भइरहेको उल्लेख गर्दै उनले सीमावर्ती विशेष आर्थिक क्षेत्रमा उत्पादन विस्तार गरेर नेपाललाई विश्वव्यापी आपूर्ति शृङ्खलासँग जोड्न सकिने बताए ।
चीनसँगको सहकार्यलाई पनि व्यावहारिक, व्यावसायिक र दीर्घकालीन बनाउनुपर्ने उनको भनाइ थियो। उनले सडक, सुरुङ, सुख्खा बन्दरगाह, हवाई सेवा, डिजिटल सम्पर्क र सीमापार रेलसहितको ट्रान्स–हिमालयन कनेक्टिभिटी विकास गर्नुपर्नेमा जोड दिए ।
नेपालको भविष्य नेपाली जनताले निर्धारण गर्ने भए पनि त्यसका लागि अन्तर्राष्ट्रिय साझेदारी आवश्यक रहेको उनले बताए । उनले अमेरिका, युरोप, आसियान, ल्याटिन अमेरिका लगायतका साझेदारलाई नेपालमा लगानी, सहकार्य र साझेदारीका लागि आग्रह गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया