मुख्य राजमार्गमा पहिरो खसेपछि काठमाडौंमा रोकिए लामो दूरीका बस

लोकपथ
28
Shares

काठमाडौं । लगातारको वर्षासँगै विभिन्न राजमार्गमा बाढी र पहिरो आएपछि काठमाडौं आउने–जाने सार्वजनिक यातायात प्रभावित भएको छ । देशका विभिन्न ठाउँबाट काठमाडौं जोड्ने मुख्य सडक अवरुद्ध हुँदा लामो दूरीका धेरै सार्वजनिक सवारीसाधन काठमाडौंमै रोकिएका छन् ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार पृथ्वी राजमार्ग र बीपी राजमार्गका केही स्थानमा पहिरो खसेपछि यातायात सञ्चालनमा समस्या भएको छ ।

काठमाडौं–हेटौँडा आवतजावत गर्ने फर्पिङ सडक भने सञ्चालनमा रहेको उनले बताए। उक्त सडकमा साना सवारीसाधन चलिरहेका छन् ।

गोङ्गबुस्थित नयाँ बसपार्क सञ्चालन गर्दै आएको लोत्से बहुउद्देश्यीय प्रालिका महाप्रबन्धक पंकज मल्लका अनुसार बिहीबार साँझदेखि बसपार्कमा सार्वजनिक सवारीसाधनको चाप बढेको छ । बाढी र पहिरोका कारण विभिन्न जिल्लाबाट काठमाडौं जोडिने सडक बन्द भएपछि लामो दूरीका धेरै बस काठमाडौंमै रोकिएका छन् ।

बिहीबार बिहानदेखि काठमाडौं उपत्यकामा निरन्तर वर्षा भइरहेको छ । वर्षाका कारण उपत्यकाका नदी तथा खोलामा पानीको सतह पनि बढ्दै गएको छ ।

सम्भावित जोखिमलाई ध्यानमा राख्दै ट्राफिक प्रहरीले नदी करिडोरमा यात्रा नगर्न माइकिङमार्फत सर्वसाधारणलाई सचेत गराइरहेको छ ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले पनि चालक तथा व्यवसायीलाई मौसम र सडकको अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न आग्रह गरेको छ । महासंघका महासचिव डेकनाथ गौतमले पहिरोका कारण राजमार्ग जुनसुकै बेला अवरुद्ध हुन सक्ने भन्दै सुरक्षा निकायसँग समन्वय गरेर मात्र यात्रा गर्न आग्रह गरेका छन् ।

विभिन्न सरकारी तथा सम्बन्धित निकायले असोज ८ देखि १२ गतेसम्म देशका धेरै स्थानमा भारी वर्षाको सम्भावना रहेको भन्दै नागरिकलाई सतर्क रहन आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?