पेट्रोलियम पदार्थको मूल्य र आपूर्ति सहज बनाउन ‘फिसबोन डायग्राम’ प्रयोग गर्दै सरकार

लोकपथ
161
Shares

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थापन र मूल्यवृद्धिको समस्या समाधान गर्न सरकारले वैज्ञानिक विधि अपनाएको बताएका छन् ।

बिहीबार राष्ट्रिय सभा बैठकमा सांसदहरूको प्रश्नको जवाफ दिँदै मन्त्री साहले ‘फिसबोन डायग्राम’ र ‘क्रिटिकल पाथ मेथड’ जस्ता प्राविधिक उपकरण प्रयोग गरी इन्धन आपूर्ति प्रणाली सुधार गर्न लागिएको जानकारी दिएका हुन् ।

राष्ट्रिय सभा सदस्य रुक्मिणी कोइरालाले पेट्रोलियम पदार्थको निरन्तर मूल्यवृद्धि र खाना पकाउने ग्यासको अभावले आम नागरिकले सास्ती भोग्नुपरेको भन्दै सरकारको तत्कालीन र दीर्घकालीन योजनाबारे प्रश्न उठाएकी थिइन् ।

जवाफमा मन्त्री साहले इन्धन अभावलाई एउटै कारणको परिणामका रूपमा नभई आपूर्ति, पूर्वाधार, नीतिगत समस्या र अन्तर्राष्ट्रिय प्रभावको संयुक्त परिणामका रूपमा विश्लेषण गरिएको बताए ।

उनका अनुसार ‘फिसबोन डायग्राम’मार्फत गरिएको विश्लेषणले पेट्रोलियम पदार्थको आयातमा निर्भरता, भण्डारणको समस्या, डिलर वितरण प्रणालीमा असमानता र विभिन्न निकायबीच समन्वयको कमीलाई प्रमुख चुनौतीका रूपमा पहिचान गरेको छ ।

मन्त्री साहले ढुवानीदेखि उपभोक्ताको भान्सासम्मको सम्पूर्ण आपूर्ति शृङ्खला व्यवस्थित बनाउन सरकार लागिरहेको बताए ।

उनले भने, ‘हामीले यसलाई केवल सिलिन्डरको संख्यामा मात्र सीमित नराखी, ढुवानीदेखि भान्सासम्मको सम्पूर्ण आपूर्ति शृङ्खलालाई वैज्ञानिक बनाउने काम गरिरहेका छौँ ।

मन्त्री साहले हाल पेट्रोल, डिजेल र हवाई इन्धनको अभाव नरहेको दाबी गर्दै खाना पकाउने ग्यासको आपूर्ति सहज बनाउन अर्थ, गृह र परराष्ट्र मन्त्रालयसँग समन्वय गरी कूटनीतिक पहल थालिएको जानकारी दिए ।

त्यसैगरी, मूल्य स्थिरीकरण कोषको प्रभावकारी परिचालन, अनावश्यक प्रशासनिक खर्च कटौती र नेपाल आयल निगमको लागत संरचना पारदर्शी बनाउने प्रतिबद्धता उनले व्यक्त गरे ।

उपभोक्तालाई राहत दिने उद्देश्यले इन्धन आपूर्ति व्यवस्थापनलाई थप प्रभावकारी बनाउने र मूल्यवृद्धिको समस्या समाधानका लागि आवश्यक कदम चालिने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?