काठमाडौं । अविरल वर्षाका कारण वीपी राजमार्ग अन्तर्गत रोशी खोलामा निर्माण गरिएको अस्थायी डाइभर्सन बाढीले आंशिक बगाएपछि राजमार्गमा यातायात सेवा अवरुद्ध भएको छ ।
डाइभर्सन बग्नुका साथै सडकका विभिन्न खण्डमा खसेको पहिरोले वीपी राजमार्ग पूर्ण रूपमा प्रभावित बनेको हो ।
सडक डिभिजन कार्यालय भक्तपुरकाअनुसार रोशी खोलामा आएको बाढीले अस्थायी डाइभर्सन बगाएपछि सो मार्ग हुँदै चल्ने सवारी साधनहरू पूर्ण रूपमा ठप्प भएका छन् ।
यसका अतिरिक्त राजमार्ग अन्तर्गतका चारसयबेशी, चौकीडाडा र गिम्तीबेशी खण्डमा माथिबाट पहिरो खस्दा सडक सञ्जाल थप प्रभावित भएको छ ।
सडक अवरुद्ध भएपछि अहिले उक्त क्षेत्रमा यात्रा गर्ने सयौं यात्रुहरू र सवारी साधनहरू बीचबाटोमै अलपत्र परेका छन् । सडक डिभिजन भक्तपुरले अवरुद्ध सडक खुलाउनका लागि प्राविधिक टोली परिचालन गरिसकेको छ ।
डिभिजनका अधिकारीहरूका अनुसार, पानी पर्न रोकिएको अवस्थामा ५ घण्टाभित्रै यातायात सुचारु गर्ने गरी कार्ययोजना अघि बढाइएको छ । स्थायी संरचनाको मर्मत र डाइभर्सनको पुनः निर्माणका लागि आवश्यक जनशक्ति र उपकरणहरू परिचालन गरिएको छ ।
हाल पहिरो पन्छाउने काम जारी रहे पनि निरन्तरको वर्षाले काममा कठिनाइ उत्पन्न भएको छ । सम्बन्धित निकायले यस रुट भएर यात्रा गर्ने सवारी चालक तथा यात्रुहरूलाई सतर्कता अपनाउन आग्रह गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया