काठमाडौं । चिनियाँ विद्युतीय सवारी निर्माता बीवाईडीको प्रिमियम ब्रान्ड डेन्जा यसै वर्ष भारतीय बजारमा प्रवेश गर्ने तयारीमा छ । कम्पनीले भारतका प्रमुख सहरमा गाडी बिक्री गर्न डिलर छनोट गर्ने काम अन्तिम चरणमा पुर्याएको छ ।
भारतीय सञ्चारमाध्यमका अनुसार डेन्जाले मुम्बई, बेंगलुरु, हैदराबाद, चेन्नई, अहमदाबाद र दिल्लीसहितका प्रमुख सहरमा बिक्री तथा वितरण सञ्जाल विस्तार गर्नेछ ।
मुम्बईमा ल्यान्डमार्क ग्रुप, बेंगलुरु र हैदराबादमा ईभीएम तथा चेन्नईमा केयुएन समूहलाई बिक्री साझेदारका रूपमा छनोट गरिएको छ । त्यस्तै, अहमदाबादमा कार्गो मोटर्स र दिल्लीसहित हरियाणा, उत्तर प्रदेश, राजस्थान तथा चण्डीगढमा कृष्णा अटोमोबाइल्सले बिक्री तथा वितरणको जिम्मेवारी पाउनेछन् ।
पहिलो गाडीका रूपमा डेन्जा डी९ आउने
भारतमा प्रवेश गर्दा डेन्जाले आफ्नो पहिलो गाडीका रूपमा डी९ सार्वजनिक गर्ने तयारी गरेको छ । कम्पनीले सन् २०२६ को अन्त्यतिर भारतको चाडपर्वको बिक्री सिजनलाई लक्षित गरी यो गाडी सार्वजनिक गर्ने सम्भावना छ ।
डेन्जा डी९ विलासी सुविधासहितको प्रिमियम एमपीभी हो । यसले भारतीय बजारमा टोयोटा भेलफायर, लेक्सस एलएम र एमजी एम९ जस्ता गाडीसँग प्रतिस्पर्धा गर्नेछ ।
यो गाडी पूर्ण विद्युतीय र प्लगइन हाइब्रिड गरी दुई विकल्पमा उपलब्ध छ । प्लगइन हाइब्रिडमा पेट्रोल इन्जिन र ब्याट्री दुवै प्रयोग हुन्छन् ।
यस्ता छन् डेन्जा डी९ का सुविधा
डेन्जा डी९ मा यात्रुको आरामलाई विशेष ध्यान दिइएको छ । यसको दोस्रो पंक्तिमा विलासी क्याप्टेन सिट राखिएका छन् । यी सिटमा १० बिन्दुबाट मसाज गर्ने सुविधा, विद्युतीय लेग रेस्ट र टचस्क्रिनबाट नियन्त्रण गर्न मिल्ने व्यवस्था छ ।
गाडीमा १५.६ इन्चको इन्फोटेनमेन्ट स्क्रिन, ठूलो प्यानोरामिक सनरुफ, प्रिमियम अडियो सिस्टम, मल्टिजोन क्लाइमेट कन्ट्रोल र सानो फ्रिजरसमेत उपलब्ध छन् ।
एकपटक चार्ज गर्दा ६०० किलोमिटरसम्म रेन्ज
डेन्जा डी९ को पूर्ण विद्युतीय भेरियन्टमा १०३.३६ किलोवाट आवर क्षमताको बीवाईडी ब्लेड ब्याट्री प्रयोग गरिएको छ । कम्पनीका अनुसार यो गाडीले एकपटक पूर्ण चार्ज गर्दा सीएलटीसी मापदण्डअनुसार ६०० किलोमिटरसम्म दूरी तय गर्न सक्छ ।
त्यस्तै, प्लगइन हाइब्रिड भेरियन्टले पेट्रोल र ब्याट्रीको संयुक्त प्रयोगबाट एक हजार किलोमिटरभन्दा बढी दूरी तय गर्न सक्ने कम्पनीको दाबी छ ।
सुरक्षाका लागि गाडीमा ९ वटासम्म एयरब्याग, ३६० डिग्री क्यामेरा र डी(पाइलट एडभान्स ड्राइभर असिस्टेन्स सिस्टम (एडीएएस) उपलब्ध छन् ।
यसमा एडाप्टिभ क्रुज कन्ट्रोल, लेन किपिङ असिस्ट, आपत्कालीन ब्रेकिङ र ब्लाइन्ड स्पट मनिटरिङजस्ता सुविधा पनि छन् ।
कति छ मूल्य ?
चिनियाँ बजारमा डेन्जा डी९ को मूल्य भेरियन्टअनुसार ३ लाख ९ हजार ८०० युआनदेखि ४ लाख ५९ हजार ८०० युआनसम्म छ ।
तर, भारतमा यसको मूल्य र बिक्री सुरु हुने मिति कम्पनीले औपचारिक रूपमा सार्वजनिक गरेको छैन ।
बीवाईडीले डेन्जालाई आफ्ना नियमित गाडीभन्दा माथिल्लो श्रेणीको प्रिमियम ब्रान्डका रूपमा अघि बढाएको छ । भारतमा पनि डेन्जाका लागि छुट्टै प्रिमियम शोरुम र बिक्री केन्द्र सञ्चालन गर्ने योजना छ ।
बीवाईडीले सन् २०२५ मा भारतमा करिब ६ हजार विद्युतीय सवारी बिक्री गरेको थियो । कम्पनीले सन् २०२६ मा भारतीय बजारमा दोहोरो अंकको बिक्री वृद्धि गर्ने लक्ष्य राखेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया