बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय

लोकपथ
0
Shares

काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) का अध्यक्ष राजेश उपाध्यायले बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु भएकाले यसलाई संवेदनशीलताका साथ व्यवहार गर्न राज्य र सरोकारवाला निकायलाई आग्रह गरेका छन् ।

काठमाडौंमा आयोजित पत्रकार अन्तरक्रिया कार्यक्रममा उनले आर्थिक मन्दी, लगानीको प्रतिकूल वातावरण र व्यवसायीको घट्दो मनोबलले बैंकिङ क्षेत्रमा दबाब बढाएको बताए ।

बैंकिङ प्रणालीले अर्थतन्त्रमा पुँजी प्रवाह गर्ने भएकाले यसमा समस्या आए समग्र अर्थतन्त्र प्रभावित हुने उनको भनाइ छ । प्राकृतिक विपद् र बजारको शिथिलताका कारण बैंकिङ क्षेत्र अप्ठ्यारो अवस्थामा पुगे पनि अहिलेको समस्या समाधान गर्न सकिने उनले बताए ।

‘एउटा मुटुले जसरी शरीरमा रक्तसञ्चार प्रणाली सञ्चालन गर्छ, अर्थतन्त्रमा बैंकिङ क्षेत्रको भूमिका ठ्याक्कै त्यही हो । त्यसैले बैंकिङ क्षेत्रलाई अत्यन्तै संवेदनशील र सावधानीपूर्वक व्यवहार गरिनुपर्छ,’ उनले भने ।

अध्यक्ष उपाध्यायले बैंकिङ क्षेत्र निक्षेपकर्ताको विश्वासमा आधारित हुने भएकाले यसप्रति नकारात्मक भ्रम फैलाउने र आधारहीन टिप्पणी गर्ने काम रोक्नुपर्ने बताए ।

बैंक जतिसुकै राम्रो भए पनि निक्षेपकर्ताको विश्वास गुमेमा संकटमा पर्न सक्ने उनको भनाइ छ । त्यसैले राजनीतिक दलका नेता, व्यवसायी र सञ्चारमाध्यमले वित्तीय क्षेत्रको संवेदनशीलतालाई बुझेर जिम्मेवार भूमिका निर्वाह गर्नुपर्ने उनले बताए ।

उनले नेपाल राष्ट्र बैंकले गर्ने कारबाही, नियम परिवर्तन तथा कानुनी निर्णयमा वित्तीय क्षेत्रको संवेदनशीलतालाई ध्यान दिनुपर्नेमा जोड दिए ।

लगानीमैत्री वातावरण बनाउन त्रासमुक्त अवस्था आवश्यक

अध्यक्ष उपाध्यायले लगानीमैत्री वातावरण निर्माणका लागि व्यवसायी र लगानीकर्तामा विश्वास तथा त्रासमुक्त अवस्था आवश्यक रहेको बताए ।

व्यवसायी र लगानीकर्ता उत्साहित भए नयाँ बजार तथा अवसर सिर्जना हुने तर विश्वास र उत्साह गुमेमा स्रोतसाधन उपलब्ध हुँदा पनि आर्थिक गतिविधि बढ्न नसक्ने उनको भनाइ छ ।

उनले कानूनको व्यावहारिक कार्यान्वयन, नीतिगत स्थिरता, लगानीको प्रतिफल सुनिश्चितता र व्यवसाय सञ्चालनमा सहजता कायम गर्नुपर्ने बताए ।

नेपालमा निजी बैंकहरू स्थापना भएपछि आर्थिक रूपान्तरण सम्भव भएको स्मरण गर्दै उनले अहिलेको आर्थिक मन्दीबाट बाहिर निस्कन निजी क्षेत्र र बैंकबीच सहकार्य आवश्यक रहेको उल्लेख गरे ।

३० देखि ४० लाख नेपाली युवाले विदेशबाट पठाउने रेमिट्यान्सले अर्थतन्त्र धानेको भन्दै उनले देशभित्रै लगानी र उत्पादन बढाउने नीति लिनुपर्ने बताए ।

अहिले बैंकिङ क्षेत्रमा देखिएको समस्या असाध्य रोग नभई ज्वरो आएजस्तो मात्र भएको उनको टिप्पणी छ । नेपाली अर्थतन्त्रमा संरचनात्मक क्षति नभएको दाबी गर्दै उनले सही नीतिगत मार्ग अपनाए बैंकिङ प्रणाली छिट्टै पुरानै लयमा फर्किने विश्वास व्यक्त गरे ।

कर्जा नोक्सानी व्यवस्थामा लाग्ने अतिरिक्त कर हटाउन माग

वित्तीय क्षेत्रको तत्काल सुधारका लागि सिबिफिनले विभिन्न नीतिगत गाँठो फुकाउनुपर्ने माग अघि सारेको छ ।

अध्यक्ष उपाध्यायले राष्ट्र बैंक ऐनमा बैंकका सञ्चालकहरूको योग्यता, उमेर हद र सामान्य कमजोरीमा हुने कारबाहीको दायरा व्यावहारिक तथा स्पष्ट बनाउनुपर्ने बताए ।

सानोतिनो त्रुटिमा समेत कारबाही हुने डरले वित्तीय क्षेत्रका नेतृत्वले आत्मविश्वासका साथ निर्णय लिन नसकेको उनको भनाइ छ ।

त्यस्तै, आर्थिक मन्दीका कारण कर्जा जोखिम बढेको अवस्थामा ५ प्रतिशतभन्दा माथिको कर्जा नोक्सानी व्यवस्थामा लाग्ने अतिरिक्त करको भार हटाउन उनले माग गरे ।

बैंकहरूमा थुप्रिँदै गएको गैरबैंकिङ तथा खराब सम्पत्ति व्यवस्थापनका लागि घोषित एसेट म्यानेजमेन्ट कम्पनी स्थापना प्रक्रिया पुस मसान्तभित्रै टुंग्याउन पनि उनले सरकारसँग आग्रह गरे ।

बाढीपहिरो प्रभावित ऋणीलाई कर्जा पुनर्संरचनामार्फत राहत दिन माग

हालैको बाढीपहिरोले बैंकका ऋणीहरूको व्यवसाय र सम्पत्तिमा गम्भीर क्षति पुर्‍याएको भन्दै अध्यक्ष उपाध्यायले प्रभावित ऋणीलाई कर्जा भुक्तानीमा समस्या हुने बताए ।

प्राकृतिक विपद्बाट प्रभावित ऋणीलाई राहत दिन नेपाल राष्ट्र बैंक र बैंकहरूले मिलेर कर्जा पुनर्संरचनामार्फत तत्काल निकास दिनुपर्ने उनको धारणा छ ।

उनले निक्षेपकर्ताको रकम शतप्रतिशत सुरक्षित रहेको भन्दै वित्तीय प्रणालीप्रति विश्वास कायम राख्न आग्रह गरे ।

नेपाली अर्थतन्त्रमा अथाह सम्भावना रहेको उल्लेख गर्दै उपाध्यायले नियन्त्रणमुखी सोच त्यागेर नीतिगत स्थिरता, सहकार्य र विश्वासको वातावरण निर्माण गर्न राज्य, निजी क्षेत्र र बैंकिङ क्षेत्र एकजुट हुनुपर्नेमा जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?