काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामा नेपालको आयात र निर्यात दुवै बढेको छ । भन्सार विभागका अनुसार साउन र भदौमा आयात ३१.५८ प्रतिशत र निर्यात ६१.८६ प्रतिशतले बढेको हो ।
यस अवधिमा नेपालले ४ खर्ब १ अर्ब ५१ करोड ८९ लाख रुपैयाँ बराबरको वस्तु आयात गरेको छ। त्यस्तै, ७६ अर्ब ५८ करोड ७५ लाख रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ ।
गत आर्थिक वर्षको पहिलो दुई महिनामा ३ खर्ब ५ अर्ब १५ करोड ५० लाख रुपैयाँ बराबरको आयात र ४७ अर्ब ३१ करोड ७६ लाख रुपैयाँ बराबरको निर्यात भएको थियो ।
भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको पहिलो दुई महिनामा नेपालको कुल वैदेशिक व्यापार ४ खर्ब ७८ अर्ब १० करोड ६५ लाख रुपैयाँ पुगेको छ । यो गत वर्षको सोही अवधिको तुलनामा ३५.६४ प्रतिशत बढी हो ।
आयातभन्दा निर्यातको वृद्धिदर धेरै भए पनि आयातको आकार ठूलो भएकाले व्यापार घाटा भने बढेको छ । पहिलो दुई महिनामा व्यापार घाटा २६।०२ प्रतिशतले बढेर ३ खर्ब २४ अर्ब ९३ करोड १४ लाख रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा व्यापार घाटा २ खर्ब ५७ अर्ब ८३ करोड ७४ लाख रुपैयाँ थियो ।
कुल वैदेशिक व्यापारमा आयातको हिस्सा ८३.९८ प्रतिशत र निर्यातको हिस्सा १६.०२ प्रतिशत रहेको छ ।
यस्तै, नेपालले १ रुपैयाँको वस्तु निर्यात गर्दा ५ रुपैयाँ २४ पैसा बराबरको वस्तु आयात गरेको छ। गत वर्ष यही अवधिमा १ रुपैयाँको निर्यात बराबर ६ रुपैयाँ ४५ पैसा आयात भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया