न्युयोर्क । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग शान्ति सम्झौता गर्ने वा सैन्य कारबाही अघि बढाउनेमध्ये एउटा विकल्प रोज्नुपर्ने बताएका छन् ।
मंगलबार न्युयोर्कमा आयोजित संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई सम्बोधन गर्दै ट्रम्पले इरानसँगको द्वन्द्व समाधान नभए इरानलाई ‘ध्वस्त पार्न सक्ने’ चेतावनी दिएका हुन् ।
ट्रम्पले इरानसँग सम्झौता गरेर पुनर्निर्माणको अवसर दिने वा सैन्य कारबाही अघि बढाउने विषयमा आफूले ‘ठूलो निर्णय’ गर्नुपर्ने बताए । यस्तो सम्झौता नोभेम्बरमा हुने अमेरिकी निर्वाचनपछि हुन सक्ने उनको भनाइ थियो ।
उनले आफूले ‘शक्तिको माध्यमबाट शान्ति’ कायम गर्न खोजिरहेको बताए । इरानमाथि गरिएको सैन्य कारबाहीले उसलाई आणविक हतियार बनाउनबाट रोकिएको दाबी पनि ट्रम्पले गरे ।
ट्रम्पको सम्बोधन भएकै दिन अमेरिकी र इरानी प्रतिनिधिबीच महासभाको साइडलाइनमा करिब तीन घण्टा वार्ता भएको थियो । ट्रम्पले वार्तालाई ‘अत्यन्त फलदायी’ बताएका छन् ।
इरानी सरकारी टेलिभिजनका अनुसार इरानी विदेशमन्त्री अब्बास अराघची र मध्यपूर्वका लागि अमेरिकी विशेष दूत स्टिभ विट्कफबीच भेटवार्ता भएको थियो । इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघाईले कतारको मध्यस्थतामा वार्ता भएको जानकारी दिए ।
उनका अनुसार इरानले सबै मोर्चामा युद्ध अन्त्य गर्नुपर्ने र अमेरिकाले ‘आक्रमणका गतिविधि’ रोक्नुपर्ने सर्त राखेको छ । वार्तापछि विट्कफले छलफल रचनात्मक र आशाजनक भएको बताएका छन् ।
रुस–युक्रेन युद्ध पनि कूटनीतिबाट अन्त्य गर्ने दाबी
ट्रम्पले रुस–युक्रेन युद्ध कूटनीतिक माध्यमबाट अन्त्य गर्ने दाबी दोहोर्याएका छन् । उनले रुस र युक्रेनका नेतासँग आफू नजिकबाट काम गरिरहेको र युद्ध अन्त्य गर्ने बताए । युद्ध मानिसहरूले सोचेभन्दा छिटो अन्त्य हुन सक्ने उनको भनाइ छ ।
तर रुस र युक्रेनबीच युद्ध जारी छ । दुवै पक्षले एकअर्काको भूभागमा क्षेप्यास्त्र र ड्रोन आक्रमण गरिरहेका छन् ।
एआईमा चीनसँग प्रतिस्पर्धा गर्ने ट्रम्पको भनाइ
ट्रम्पले कृत्रिम बुद्धिमत्ता (एआई) को क्षेत्रमा अमेरिकाले चीनसँगको प्रतिस्पर्धामा आफ्नो अग्रता कायम राख्ने बताएका छन् । उनले एआईमाथि नियन्त्रण गर्ने विश्वव्यापी योजनालाई अमेरिकाले स्वीकार नगर्ने बताए । एआईलाई ‘सुपर इन्टेलिजेन्स’ अर्थात् ‘अति बुद्धिमत्ता’ भन्न उपयुक्त हुने उनको भनाइ थियो ।
ग्रिनल्यान्डमा अमेरिकी सैन्य उपस्थितिबारे सम्झौता
महासभाको साइडलाइनमा ट्रम्पले डेनमार्क र ग्रिनल्यान्डका नेतासँग ग्रिनल्यान्डमा अमेरिकी सैन्य उपस्थिति बढाउनेसम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका छन् ।
सम्झौताले ग्रिनल्यान्डको सार्वभौमिकतालाई पुनः पुष्टि गरेको बताइएको छ । साथै अमेरिकालाई ग्रिनल्यान्डको हवाई क्षेत्र र भूभागमा थप पहुँच दिने व्यवस्था गरिएको छ ।
ट्रम्पले सम्बोधनका क्रममा संयुक्त राष्ट्रसंघको आलोचना गर्दै राष्ट्रिय सार्वभौमिकता र अमेरिकी सैन्य शक्तिमा जोड दिए ।
उनले संयुक्त राष्ट्रसंघमा ‘निर्वाचित नभएका विश्वव्यापी कर्मचारीहरूको वामपन्थी एजेन्डा’ रहेको आरोप लगाए । ‘कुनै विश्व सरकार छैन,’ ट्रम्पले भने ।
उनले पश्चिमी गोलार्धमा कुनै पनि देश वा समूहले अमेरिकाका लागि खतरा सिर्जना गर्न नदिने चेतावनी पनि दिए ।
ट्रम्पले क्युबाको कम्युनिस्ट सरकारलाई ‘असफल राज्य’को संज्ञा दिए । उनी क्युबाबारे बोलिरहेका बेला क्युबाली प्रतिनिधिमण्डल महासभा कक्षबाट बाहिरिएको देखिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया