काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले पदभार ग्रहण गरेका छन् ।
बुधबार प्राधिकरणमा पदभार ग्रहण गर्दै श्रेष्ठले सुनकोशी–३ आयोजनाको डिजाइन अध्ययनका लागि कमिटी गठन गर्ने आफ्नो पहिलो निर्णय भएको बताएका हुन् ।
उनले कमिटी गठनसम्बन्धी फाइल खोलिसकेको जानकारी दिए । ऊर्जा क्षेत्रमा आफूले लामो समयदेखि काम गर्दै आएको बताउँदै श्रेष्ठले ऊर्जा सन्तुलन कायम गर्न रणनीति बनाएर अघि बढ्ने बताए ।
‘सुनकोशी–३ डिजाइनको अध्ययनका लागि कमिटी गठन गर्ने पहिलो निर्णय छ । त्यसका लागि कमिटी गठनको फाइल अहिले खोलेको छु,’ उनले भने ।
श्रेष्ठले जनतालाई गुणस्तरीय विद्युत् सेवा उपलब्ध गराउने, सुशासन कायम गर्ने र सेवा–सुविधामा सुधार ल्याउने विषयलाई प्राथमिकतामा राख्ने बताए ।
‘जनतालाई दिनुपर्ने सेवासुविधा, सुशासन र गुणस्तरीय बिजुली जनतालाई दिनु नै मुख्य प्राथमिकता हुनेछ,’ उनले भने ।
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले श्रेष्ठलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया