काठमाडौं । युवा, श्रम तथा रोजगार मन्त्रालयले कोशी प्रदेशको इटहरीमा सीप तथा रोजगार मेला आयोजना गर्ने भएको छ ।
मन्त्रालयले बुधबार पत्रकार सम्मेलन गरी असोज १४ देखि २० गतेसम्म इटहरीमा सातदिने सीप तथा रोजगार मेला आयोजना गर्न लागेको जानकारी दिएको हो ।
मन्त्रालयका सहसचिव एवं सीप तथा रोजगार मेला संयोजक हेमराज तामाङले सीप विकास तथा रोजगारी प्रवद्र्धनका लागि मेलालाई राष्ट्रिय अभियानका रूपमा सञ्चालन गर्न लागिएको बताए ।
उनका अनुसार सातै प्रदेशलाई समेट्ने गरी सात चरणमा सीप तथा रोजगार मेला आयोजना गर्ने मन्त्रालयको तयारी छ । सोहीअनुसार पहिलो चरणमा कोशी प्रदेशको इटहरीमा मेला आयोजना गर्न लागिएको हो ।
सरकारले वैदेशिक रोजगारीलाई बाध्यताबाट विकल्पमा रूपान्तरण गर्दै स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्ने नीति लिएको तामाङले बताए । सोही नीतिअनुसार सीप सिक्न इच्छुक व्यक्तिलाई आवश्यक सीप विकासको अवसर उपलब्ध गराउने र सीप हासिल गरिसकेका जनशक्तिलाई रोजगारदाताको मागअनुसार रोजगारीसँग जोड्ने उद्देश्यले मेला आयोजना गर्न लागिएको उनले बताए ।
मेलामा रोजगारदाता र श्रमिकबीच सीपअनुसारको मिलान तथा ‘जब प्लेसमेन्ट’को व्यवस्था गरिने मन्त्रालयले जनाएको छ ।
तामाङले सीप तथा रोजगार मेला सामान्य मेला नभई राष्ट्रिय अभियानका रूपमा अघि बढाउन लागिएको बताए । मन्त्रालयको बजेट तथा कार्यक्रममा यसलाई महत्वपूर्ण राष्ट्रिय ‘फ्ल्यागसिप’ कार्यक्रमका रूपमा अघि बढाउने व्यवस्था गरिएको उनले जानकारी दिए ।
उनका अनुसार मेलामा उद्योग, सेवा, कृषि, निर्माणलगायत विभिन्न १० विधाका गरी ६५ वटा स्टल रहनेछन् ।
मेलाले उद्योगको आवश्यकता, श्रम बजारको माग र सीपयुक्त जनशक्तिबीचको सम्बन्धलाई थप सुदृढ गर्ने मन्त्रालयको विश्वास छ । तीनै तहका सरकार, निजी क्षेत्र तथा विकास साझेदारको सहभागिता र सहकार्यमा कोशी प्रदेशमा मेला सञ्चालन गर्न लागिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया