जलवायु संकटको जोखिम नेपालका विपद्ले पुष्टि गरेको छ : महासचिव गुटेरेस

लोकपथ
0
Shares

काठमाडौं । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले नेपालमा पछिल्लो समय देखिएका विपद्ले जलवायु सङ्कटको जोखिम पुष्टि गरेको बताएका छन् ।

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभाअन्तर्गत साधारण सत्रको उद्घाटन समारोहलाई सम्बोधन गर्दै महासचिव गुटेरेसले जलवायु परिवर्तनका कारण विश्वको तापक्रम बढ्दै जाँदा नेपालसहित हिमाली मुलुकहरू बढी प्रभावित भइरहेको बताए ।

तापक्रम वृद्धि हुँदै जाँदा हिमनदी पग्लने क्रम तीव्र बनेको उल्लेख गर्दै उनले यसको असर आगामी दिनमा अझ गम्भीर हुने चेतावनी दिए ।

तीन वर्षअघि नेपाल भ्रमणका क्रममा आफूले हिमनदी तीव्र गतिमा पग्लिरहेको विषयमा विश्व समुदायलाई सचेत गराएको स्मरण गर्दै गुटेरेसले पछिल्ला घटनाले त्यतिबेला दिइएको चेतावनीलाई पुष्टि गरेको बताए ।

‘तीन वर्षअघि नेपालको हिमालबाट मैले विश्वको छाना भत्किँदै गएको चेतावनी दिएको थिएँ,’ उनले भने, ‘त्यतिबेलाको चेतावनीलाई अतिरञ्जित ठान्नेहरू भए पनि पछिल्ला घटनाले जलवायु परिवर्तनका असर अनुमान गरिएभन्दा छिटो, गम्भीर र व्यापक रूपमा देखिन थालेको पुष्टि गरेको छ ।’

उनले नेपालमा भएको भोटेकोशी बाढीजस्ता विपद्ले जलवायु परिवर्तनका असरलाई वास्तविकतामा परिणत गरेको स्पष्ट पारे ।

महासचिव गुटेरेसले जलवायु परिवर्तनबाट उत्पन्न जोखिम अब भविष्यको विषय नभई वर्तमानको वास्तविकता बनिसकेको बताए । विश्वव्यापी कार्बन उत्सर्जनमा न्यून योगदान गर्ने मुलुकहरूले नै जलवायु परिवर्तनको ठूलो मूल्य चुकाइरहेको उनको भनाइ थियो ।

उनले जलवायु न्यायको आवश्यकता औँल्याउँदै प्रदूषण गर्नेहरूले त्यसको मूल्य तिर्नुपर्ने बताए । साथै जलवायुजन्य विपद्बाट प्रभावित जोखिममा रहेका मुलुकले न्यायसहित आवश्यक वित्तीय सहयोग पाउनुपर्नेमा उनले जोड दिए ।

‘जलवायु परिवर्तनका कारण हुने हानि तथा क्षति सम्बोधन गर्न स्थापना गरिएको कोषमा पर्याप्त रकम छैन,’ गुटेरेसले भने, ‘विकसित मुलुकहरूलाई जलवायु वित्तसम्बन्धी आफूले गरेको प्रतिबद्धता पूरा गर्न आग्रह गर्दछु ।’

उनले जलवायु अनुकूलनका लागि उपलब्ध वित्तलाई तीन गुणा वृद्धि गर्न तथा हानि तथा क्षति कोषमा थप स्रोत परिचालन गर्नसमेत विश्व समुदायलाई आह्वान गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?