घण्टा-घण्टामा बाढीको पूर्वसूचना : नदीको अवस्था ‘रियल टाइम’ निगरानी

लोकपथ
0
Shares

काठमाडौं । सम्भावित भारी वर्षासँगै बाढी र पहिरोको जोखिम बढ्ने भएपछि सरकारले नदीको जलसतह र विपद्को अवस्था निरन्तर निगरानी गर्दै सर्वसाधारणलाई घण्टा–घण्टामा पूर्वसूचना दिने भएको छ ।

आगामी शुक्रबारदेखि आइतबारसम्म (असोज ८, ९ र १० गते) देशका अधिकांश भू–भागमा भारी वर्षाको सम्भावना रहेकाले विपद् जोखिम न्यूनीकरण तथा प्रतिकार्यको तयारीस्वरूप पूर्वसूचना प्रणालीलाई थप चुस्त बनाइएको हो ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेतीका अनुसार जल तथा मौसम विज्ञान विभाग र बाढी पूर्वानुमान महाशाखासँग निरन्तर समन्वय गरी नदीहरूको जलसतह र जोखिमको अवस्था ‘रियल टाइम’ मा निगरानी गरिनेछ ।

सम्भावित बाढी कुन समयमा खतराको तहमा पुग्न सक्छ र त्यसबाट कस्तो प्रभाव पर्न सक्छ भन्ने प्राविधिक विश्लेषण गरी हरेक घण्टा सूचना अद्यावधिक गरिने उप्रेतीले बताए ।

‘पूर्वसूचना प्रणालीलाई हामी घण्टा–घण्टामा अपडेट गर्ने र अवस्था निगरानी गर्ने काम गर्छौँ । कुनै ठाउँमा बाढी खतराको तहमा कहिले पुग्छ र त्यसले के प्रभाव पार्छ भनेर बाढी पूर्वानुमान महाशाखासँग समन्वय भइरहेको छ,’ उनले भने ।

उनका अनुसार वर्षाको मात्रा पनि ‘रियल टाइम’ मा निगरानी गरिनेछ । नागरिकको मोबाइलमा एसएमएसमार्फत आउने बाढी तथा मौसमसम्बन्धी अलर्टलाई गम्भीरतापूर्वक लिन उनले आग्रह गरे ।

साइक्लोनको निगरानी, हिमाली क्षेत्रमा रेड अलर्ट

प्राधिकरणले समुद्रमा विकसित हुने ठूलो आँधी अर्थात् ‘साइक्लोन’ प्रणाली र त्यसको दिशामा हुन सक्ने परिवर्तनको समेत प्रत्यक्ष निगरानी गरिरहेको जनाएको छ ।

मौसम प्रणाली तीव्र रूपमा परिवर्तन हुन सक्ने भएकाले उच्च हिमाली क्षेत्रमा भारी हिमपातको सम्भावनालाई ध्यानमा राख्दै ‘रेड अलर्ट’ जारी गरिएको छ ।

मध्यपहाडी तथा तल्लो तटीय क्षेत्रमा मध्यमदेखि भारी वर्षाको प्रक्षेपण गरिएको छ । जोखिमयुक्त हिमाली तथा पहाडी क्षेत्रमा रहेका पर्यटकलाई तत्काल सुरक्षित स्थानमा फर्किन आग्रह गरिएको छ ।

यस्तै, ट्राभल एजेन्सीहरूलाई नयाँ बुकिङ नगर्न र हेलिकप्टर उडानका लागि आवश्यक पूर्वतयारीसहित सतर्क रहन एडभाइजरी जारी गरिएको छ ।

यातायात रोक्न सकिने, किसानलाई धानबाली जोगाउन आग्रह

विपद्को जोखिम बढेमा राजमार्ग तथा सडकमा सवारी आवागमन पूर्ण रूपमा रोक्न सकिने प्राधिकरणले जनाएको छ ।

शुक्रबार र शनिबार अत्यावश्यक कामबाहेक यात्रा नगर्न यात्रुलाई आग्रह गर्ने तयारी गरिएको उप्रेतीले बताए । यातायात व्यवसायीलाई समेत जोखिमको अवस्था हेरेर सेवा सञ्चालन नगर्न आग्रह गरिनेछ ।

पहिरोका कारण सडक अवरुद्ध हुन सक्ने सम्भावनालाई ध्यानमा राख्दै देशका मुख्य राजमार्गमा तत्काल सडक खुलाउन डोजरहरू ‘स्ट्यान्डबाई’ राखिएको छ ।

वर्षाका कारण कृषि क्षेत्रमा समेत क्षति पुग्न सक्ने भएकाले खेतमा पाकेको धानबाली र भण्डारण गरिएको अनाज जोगाउन किसानलाई विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ । यसका लागि कृषि मन्त्रालयले छुट्टै एडभाइजरीसमेत जारी गरिसकेको छ ।

बाढीमा टिकटक बनाउन र दाउरा संकलन गर्न नजान चेतावनी

प्राधिकरणले बाढीका बेला भिडियो खिच्न, टिकटक बनाउन वा सामाजिक सञ्जालमा सामग्री राख्न भन्दै जोखिमपूर्ण स्थानमा नजान सर्वसाधारणलाई चेतावनी दिएको छ ।

बाढीले बगाएर ल्याएका दाउरा तथा अन्य सामग्री संकलन गर्न खोलामा पस्ने प्रवृत्ति पनि अत्यन्त जोखिमपूर्ण हुने भन्दै त्यस्ता गतिविधि नगर्न उप्रेतीले आग्रह गरे ।

हाल देशभरका सुरक्षा निकायलाई ‘हाई अलर्ट’ मा राखिएको छ । ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी ९सिडिओ० सम्मिलित कमाण्ड पोस्टमार्फत मौसमी अवस्थाको प्रत्यक्ष निगरानी र सम्भावित विपद्को प्रतिकार्य तयारीलाई तीव्र पारिएको प्राधिकरणले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?