चीनद्वारा नास्टलाई डीएनए परीक्षणका उपकरण र प्रविधि हस्तान्तरण

लोकपथ
0
Shares

काठमाडौं । चीन सरकारले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) लाई डीएनए परीक्षणका लागि आवश्यक उपकरण, सामग्री तथा प्रविधि उपलब्ध गराएको छ ।

रसुवा बाढीमा परी ज्यान गुमाएका तथा बेपत्ता भएका व्यक्तिको पहिचानका लागि डीएनए प्रोफाइलिङ गर्न चीनले नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण गरेको हो ।

बुधबार विज्ञान तथा प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनको उपस्थितिमा आयोजित कार्यक्रममा नेपालका लागि चीनका राजदूत झाङ माओमिङले डीएनए प्रोफाइलिङका लागि आवश्यक सामग्री तथा प्रविधि नास्टलाई हस्तान्तरण गरे ।

बाढीपछि राष्ट्रिय विधि विज्ञान प्रयोगशाला र नेपाल प्रहरीको विधि विज्ञान प्रयोगशालामा मात्रै डीएनए नमुना परीक्षण सम्भव नभएपछि नास्टको प्रयोगशालाबाट समेत परीक्षणको काम भइरहेको नास्टका वरिष्ठ वैज्ञानिक तथा प्रवक्ता डा। रामचन्द्र पौडेलले बताए ।

उनका अनुसार हालसम्म नास्टको प्रयोगशालाले करिब ८०७ वटा नमुना प्राप्त गरेको छ । नेपाल प्रहरीको फरेन्सिक ल्याबबाट मात्रै पछिल्लो पटक १२ वटा नमुना नास्टले प्राप्त गरेको उनले जानकारी दिए ।

बाढीपछि ठूलो संख्यामा मानिस बेपत्ता भएको प्रारम्भिक विवरण आएपछि नमुना परीक्षणलाई तीव्रता दिन विभिन्न प्रयोगशालाबीच काम बाँडफाँट गरिएको पौडेलले बताए । राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा भारतबाट आएका विज्ञले समेत सहयोग गरिरहेका छन् भने नेपाल प्रहरीको फरेन्सिक ल्याबमा पनि विदेशी विज्ञको सहयोग रहेको उनले बताए ।

नास्टले प्राप्त भएका नमुनाको डीएनए प्रोफाइल तयार गरी सम्बन्धित फरेन्सिक प्रयोगशालालाई उपलब्ध गराउने गरेको छ । अन्तिम विश्लेषण तथा पहिचानका लागि आवश्यक डेटासँग मिलान गर्ने काम भने सम्बन्धित वैधानिक फरेन्सिक निकायबाट हुने पौडेलले बताए ।

उनले बाढीपछि बगाएर ल्याइएका शव तथा मानव अवशेषको डीएनए प्रोफाइलिङमा नास्टले सहयोग गरिरहेको बताए । तर, वैधानिक रूपमा डीएनए प्रोफाइलिङ गर्ने जिम्मेवारी राष्ट्रिय विधि विज्ञान प्रयोगशाला र नेपाल प्रहरीको फरेन्सिक ल्याबको रहेको उनको भनाइ छ ।

‘यो काम दुईवटा ल्याबले मात्र गरेर सम्भव हुने अवस्था थिएन । हामी पनि विज्ञान मन्त्रालयअन्तर्गतको निकाय भएकाले नास्टले सहयोग गर्दा कामलाई अझ छिटो अघि बढाउन सकिन्छ भन्ने उद्देश्यले यो काम सुरु गरिएको हो,’ पौडेलले भने ।

मन्त्री पुनको पहलमा चीन सरकारको सहयोगबाट प्राप्त उपकरण तथा अन्य स्रोतबाट प्राप्त उपकरणहरू राष्ट्रिय विधि विज्ञान प्रयोगशाला, नेपाल प्रहरीको फरेन्सिक ल्याब र नास्टमा प्रयोग भइरहेको उनले बताए ।

चिनियाँ विज्ञहरूले नास्टका वैज्ञानिकसँग सहकार्य गर्दै तालिम, क्षमता विकास र आवश्यक डेटा उत्पादनमा सहयोग गरिरहेको पौडेलले जानकारी दिए । राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा परीक्षणका लागि आएका हड्डी, दाँतलगायतका नमुना तथा हराएका व्यक्तिको पहिचानका लागि उत्खनन गरिएका नमुनामध्ये केही नास्टमा समेत पठाउने गरिएको उनले बताए ।

नास्टले तयार गरेको डीएनए प्रोफाइल सम्बन्धित फरेन्सिक निकायलाई उपलब्ध गराउने र त्यसपछि डेटा विश्लेषण तथा पहिचानको काम सम्बन्धित संयन्त्रले गर्ने उनको भनाइ छ । उनका अनुसार सम्बन्धित फरेन्सिक निकायसँग अन्तर्राष्ट्रियस्तरको डेटाबेसमा समेत पहुँच रहेकाले नास्टबाट पठाइएको डेटा त्यहाँ समावेश गरी पहिचान प्रक्रिया अघि बढाइन्छ ।

पौडेलका अनुसार नास्टमा भइरहेको कामले तत्कालीन डीएनए परीक्षणलाई तीव्रता दिनुका साथै नेपाली वैज्ञानिकको क्षमता विकासमा समेत सहयोग पुगेको छ ।

चिनियाँ विज्ञहरूले आफ्ना उपकरणसहित नेपाली वैज्ञानिकलाई तालिम र प्राविधिक सहयोग गरिरहेका छन् । मानव अवशेषबाट डीएनए निकाल्ने प्रविधि अन्तर्राष्ट्रिय मापदण्डअनुसार नै सञ्चालन भइरहेको पौडेलले बताए ।

चिनियाँ उपकरण र प्रविधिको प्रयोगले परीक्षण प्रक्रिया थप सहज र अनुकूलित भएकाले डीएनए परीक्षणलाई तीव्र बनाउन सहयोग पुगेको उनको भनाइ छ । नमुनाको संख्या घटेपछि नियमित रूपमा हुने फरेन्सिक परीक्षण भने राष्ट्रिय विधि विज्ञान प्रयोगशाला र नेपाल प्रहरीको फरेन्सिक ल्याबबाटै सञ्चालन गर्न सकिने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?