काठमाडौं । १ अर्ब ३४ करोड ७८ लाख रुपैयाँभन्दा बढीको अवैध हुण्डी कारोबार गरेको आरोपमा धनुषाबाट एक जना पक्राउ परेका छन् ।
केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) र जिल्ला प्रहरी कार्यालय धनुषाको संयुक्त टोलीले धनुषाको शहीदनगर नगरपालिका–४ का २४ वर्षीय अजय कुमार मुखियालाई पक्राउ गरेको हो ।
सीआईबीका अनुसार विभिन्न मुलुक, विशेषगरी मलेसियाबाट हुण्डीमार्फत रकम कारोबार भइरहेको सूचनाका आधारमा अनुसन्धान गरिएको थियो । बैंक खाताको कारोबार विश्लेषण गर्दा विभिन्न व्यक्तिगत तथा व्यावसायिक खातामार्फत ठूलो रकमको हुण्डी कारोबार भएको भेटिएको सीआईबीले जनाएको छ ।
अनुसन्धानबाट कुल १ अर्ब ३४ करोड ७८ लाख ३९ हजार १४४ रुपैयाँ बराबरको अवैध हुण्डी कारोबार भएको पुष्टि भएको सीआईबीको भनाइ छ ।
मुखियालाई धनुषा जिल्ला अदालतबाट पक्राउ अनुमति लिएर भदौ ३० गते साँझ शहीदनगर नगरपालिका–४ बाट पक्राउ गरिएको हो ।
उनीमाथि हुण्डी कारोबारसम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको छ । साथै, यस कारोबारमा संलग्न अन्य व्यक्तिहरूको पनि खोजी भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया