विपद् व्यवस्थापनको लागि संसदीय उच्चस्तरीय समिति गठन गर्न सभामुखलाई कांग्रेसको ध्यानाकर्षण

लोकपथ
0
Shares

काठमाडौं । नेपाली कांग्रेसले विपद् व्यवस्थापनका लागि तत्काल संसदीय उच्चस्तरीय समिति गठन गर्न सभामुख डोलप्रसाद अर्यालको ध्यानाकर्षण गराएको छ ।

मंगलबार कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सभामुख अर्याललाई भेटेर विपद्पछिको राहत, उद्धार तथा पुनःस्थापनाको काम प्रभावकारी र पारदर्शी बनाउन समिति गठन गर्न माग गरेका हुन् ।

भेटपछि सञ्चारकर्मीसँग कुरा गर्दै आङ्देम्बेले विपद् आएको १७-१८ दिन बितिसक्दा पनि सर्वदलीय बैठकमा उठाइएको समिति गठनको विषय कार्यान्वयनमा आउन नसकेको बताए ।

उनले संसदीय समितिमार्फत सरकारका राहत, उद्धार तथा पुनःस्थापनाका कामको अनुगमन र समन्वय गर्नुपर्नेमा जोड दिए । विपद् व्यवस्थापनमा राज्यका सबै निकाय र राजनीतिक दलबीच समन्वय आवश्यक रहेको उनको भनाइ छ ।

आङ्देम्बेले प्रभावित बालबालिका, सुत्केरी महिला तथा अन्य पीडितको अवस्था, सुरक्षित पुनःस्थापना र राहतका लागि प्राप्त सहयोगको सदुपयोगबारे समितिले अनुगमन गर्नुपर्ने बताए ।

उनले संसदीय उच्चस्तरीय समिति गठन गर्नु सरकारको विरोध गर्नु नभई सरकारका कामलाई थप व्यवस्थित, जिम्मेवार र प्रभावकारी बनाउन आवश्यक रहेको स्पष्ट पारे ।

‘सरकारलाई थप जिम्मेवार बनाउन र कहाँ काम भइरहेको छ, कहाँ पुग्न सकेको छैन भन्ने विषयमा अनुगमन तथा समन्वय गर्न यस्तो समिति आवश्यक छ,’ उनले भने ।

आङ्देम्बेले प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रम तत्काल सञ्चालन गर्न पनि सभामुखको ध्यानाकर्षण गराएका छन् ।

संसद्को नियमावली र कार्यतालिकाअनुसार प्रश्नोत्तर कार्यक्रम संसद् र कार्यकारीबीच प्रत्यक्ष संवादको महत्वपूर्ण माध्यम भएकाले यसको सञ्चालन आवश्यक रहेको उनले बताए ।

सभामुख यस विषयमा सकारात्मक रहेको र प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम चाँडै सञ्चालन गर्ने तयारीमा रहेको जानकारी पाएको आङ्देम्बेले बताए ।

भेटमा उनले नेपाली कांग्रेसको १५औँ महाधिवेशनको कार्यतालिकाबारे पनि सभामुखलाई जानकारी गराएका थिए । उनका अनुसार कांग्रेसको वडा अधिवेशन ३ र ४ गते, प्रदेश तथा क्षेत्रीय अधिवेशन १० गते र केन्द्रीय महाधिवेशन भदौ १६ देखि १९ गतेसम्म हुने कार्यक्रम रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?