काठमाडौं । चीन सरकारले नेपालका बाढी पीडितका लागि घोषणा गरेको नगद सहयोग रकम हस्तान्तरण गरेको छ ।
आइतबार अर्थ मन्त्रालयमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई भेट गरेर नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङले झन्डै साढे ३० करोड नेपाली रुपैयाँ (२० लाख अमेरिकी डलर) को चेक अर्थमन्त्रीलाई हस्तान्तरण गर्नुभयो ।
यसैगरी, राजदूत माओमिङले चिनियाँ रेडक्रसले उपलब्ध गराएको ३ करोड ६ लाख रुपैयाँ बराबर (२ लाख अमेरिकी डलर) को नगद पनि हस्तान्तरण गरे ।
राहत रकम हस्तान्तरण गर्दै राजदूत माओमिङले हिमालय क्षेत्रमा आएको विशाल प्रलयका कारण नेपाल र चीनले भोगेको विपत्तिको सामना दुवै देशले मिलेर गर्ने बताए ।
नेपालको विपत्तिमा चीन सधैँ साथमा रहेको सन्देश चीनका राष्ट्रपति र प्रधानमन्त्रीले नेपाल सरकारलाई पठाएको बताउँदै राजदूत माओमिङले नेपालका लागि चीन सरकारले गरेको अन्य प्रकारका सहयोगहरू पनि नेपाल भित्रिन सुरु भइसकेको जानकारी दिए ।
आज मात्रै दुई वटा चिनियाँ जहाजले ५० टन टेन्ट, ब्ल्याङ्केट, स्लिपिङ ब्याग, मेडिकल किट र बिस्कुटजस्ता सहायता सामग्री काठमाडौँमा ओरालेको राजदूत माओमिङले बताए । साथै, थप सहयोग पनि निरन्तर गरिने उनको भनाइ छ ।
रसुवामा गएको बाढीका कारण चीनतर्फ नै रोकिएका नेपालीहरूलाई मुस्ताङको कोरोला नाका भएर नेपाल फिर्ता ल्याउनका लागि पहल भइरहेको पनि उनले अर्थमन्त्रीलाई अवगत गराए ।
त्यस्तै, जलविद्युत कम्पनीको सुरुङ (टनेल) मा फसेकाहरूको उद्धारका लागि हिजै चिनियाँ हेलिकप्टरसहितको दक्ष जनशक्ति नेपाल आएको जानकारी गराउँदै राजदूत माओमिङले थप केही दक्ष उद्धार प्राविधिकहरू आज नेपाल आइपुगेको बताए ।
नेपाल सरकारले उद्धारका लागि माग गरेको ठूलो परिमाणमा सामान बोक्न सक्ने ड्रोन नेपाल ल्याउनका लागि चीन सरकारले द्रूत गतिमा काम गरिरहेको कुरा पनि उहाँले अर्थमन्त्रीलाई जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया