काठमाडौं । नाडा अटो शो २०२६ को आज चौथो दिन हो । भदौ ९ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा अटो शो सञ्चालन भइरहेको छ ।
भदौ १० गते भोटेकोशीमा आएको ठूलो बाढीका कारण देशका विभिन्न क्षेत्रमा जनधनको क्षति भयो । बाढीले अटोमोबाइल क्षेत्रमा पनि असर पारेको छ । तर, आर्थिक गतिविधिलाई निरन्तरता दिन व्यवसायीले कठिन अवस्थामा पनि अटो शो सञ्चालन गरिरहेका छन् ।
बाढीका कारण रसुवागढी–केरुङ नाका जोड्ने सडक क्षतिग्रस्त भएपछि चीनबाट नेपाल आउने विद्युतीय गाडीको आपूर्तिमा समस्या हुने चिन्ता देखिएको छ । तर, व्यवसायीहरूले अटो शोमा बुकिङ भएका गाडी दसैँ–तिहारसम्म ग्राहकलाई उपलब्ध गराउन सकिने बताएका छन् ।
केरुङ नाका हुँदै गाडी ल्याउन समस्या भएपछि व्यवसायीहरूले तातोपानी र कोरोला नाकालाई वैकल्पिक रूपमा प्रयोग गर्ने तयारी गरेका छन् । यसका कारण अटो शोमा बुकिङ भएका गाडीको डेलिभरीमा ठूलो समस्या नहुने उनीहरूको भनाइ छ ।
नेपालमा ठूलो कार ब्रान्डका रूपमा रहेको बीवाईडीले पनि कोरोला नाका हुँदै गाडी ल्याउने तयारी गरेको छ । कम्पनीले अघिल्लो वर्ष पनि यही नाका प्रयोग गरेर गाडी ल्याएको थियो । बाढीका कारण बीवाईडीका ठूलो संख्यामा गाडी बगे पनि थप गाडी कोरोला नाकाबाट ल्याउने तयारी भइरहेको छ ।
साइमेक्स इंकका म्यानेजर आशिष शाक्यका अनुसार कम्पनीले पहिले नै विभिन्न भन्सार नाका प्रयोग गर्दै आएको छ । त्यसैले कुनै एउटा नाकामा समस्या आए पनि गाडीको आपूर्तिमा ठूलो असर नपर्ने उनले बताए ।
व्यवसायीहरूले वैकल्पिक नाका र मार्ग प्रयोग गरेर अटो शोमा बुकिङ भएका गाडी दशैं तथा तिहारसम्म ग्राहकलाई उपलब्ध गराउने बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया