सामसङको ग्यालेक्सी ‘जेड फोल्ड ८’ सिरिज सार्वजनिक, मूल्य कति ?

लोकपथ
14
Shares

काठमाडौं । सामसङ नेपालले नयाँ पुस्ताका फोल्डेबल स्मार्टफोन र स्मार्टवाच नेपाली बजारमा सार्वजनिक गरेको छ । कम्पनीले ग्यालेक्सी जेड फोल्ड ८ अल्ट्रा, ग्यालेक्सी जेड फोल्ड ८ र ग्यालेक्सी जेड फ्लिप ८ सार्वजनिक गरेको हो ।

नयाँ फोनमा कृत्रिम बुद्धिमत्ता (एआई) मा आधारित सुविधा थप गरिएको सामसङले जनाएको छ । कम्पनीका अनुसार नयाँ फोल्डेबल फोनलाई दैनिक काम, मल्टिटास्किङ र मनोरञ्जनका लागि थप उपयोगी बनाइएको छ ।

जेड फोल्ड ८ अल्ट्रा र जेड फोल्ड ८ ठूलो डिस्प्ले र एकैपटक धेरै काम गर्न मिल्ने सुविधासहित आएका छन् । त्यस्तै, जेड फ्लिप ८ भने सानो आकारमा फोल्ड गर्न मिल्ने भएकाले सहज बोक्न सकिने फोनका रूपमा प्रस्तुत गरिएको छ ।

नयाँ फोनका लागि नेपालमा प्रि–अर्डरसमेत खुला गरिएको छ । प्रि–अर्डर गर्ने ग्राहकले छुट, किस्ताबन्दी, पुरानो फोन साट्दा थप मूल्य, निःशुल्क कभर र थप वारेन्टीलगायतका सुविधा पाउने कम्पनीले जनाएको छ ।

सामसङका अनुसार योग्य ग्राहकले २४ महिनासम्मको किस्ताबन्दी सुविधा र साढे ४० प्रतिशतसम्मको छुट पाउन सक्नेछन् । पुरानो मोबाइल साटेर नयाँ फोन खरिद गर्ने ग्राहकका लागि एक्सचेन्ज सुविधा पनि उपलब्ध हुनेछ ।

कम्पनीले ईसेवा, एनसेल, हिम इलेक्ट्रोनिक्सलगायत विभिन्न साझेदारसँग सहकार्य गरी ग्राहकलाई खरिददेखि डेलिभरी र उत्पादन दर्तासम्मको सेवा सहज बनाउने जनाएको छ ।

नेपालमा नयाँ उपकरणको मूल्य
ग्यालेक्सी जेड फोल्ड ८ अल्ट्रा : २ लाख ९९ हजार ९९९ रुपैयाँ
ग्यालेक्सी जेड फोल्ड ८ : २ लाख ७४ हजार ९९९ रुपैयाँ
ग्यालेक्सी जेड फ्लिप ८ : १ लाख ९४ हजार ९९९ रुपैयाँ
ग्यालेक्सी वाच अल्ट्रा २ : १ लाख २३ हजार ९९९ रुपैयाँ
ग्यालेक्सी वाच ९ : ६६ हजार ४९९ रुपैया

यससँगै कम्पनीले नेपाली युवाका लागि कोडिङ, प्रोग्रामिङ र एआईसम्बन्धी सीप विकासमा सहयोग गर्ने सामाजिक उत्तरदायित्वका कार्यक्रम सञ्चालन गर्ने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?