सूर्यज्योति लाइफले सञ्चालनमा ल्यायो आफ्नै ‘अल्फा प्लस सूर्यज्योति फण्ड’

लोकपथ
0
Shares

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले ५० करोड रुपैयाँको ‘अल्फा प्लस सूर्यज्योति फण्ड’ सञ्चालनमा ल्याएको छ ।

कम्पनीले फण्ड सञ्चालनका लागि नेपाल धितोपत्र बोर्डबाट कोष दर्ता तथा निष्काशनको प्रमाणपत्र प्राप्त गरेको जनाएको छ । फण्डको व्यवस्थापन तथा लगानी कार्यान्वयनको जिम्मेवारी अल्फा प्लस भेन्चर्स लिमिटेडले सम्हाल्नेछ ।

कम्पनीका अनुसार नेपाली बीमा क्षेत्रमा आफ्नै नाममा विशेष फण्ड सञ्चालन गर्ने यो पहिलो पहल हो । फण्डमार्फत दीर्घकालीन तथा योजनाबद्ध लगानीका लागि विभिन्न क्षेत्रमा अवसर खोजिनेछ ।

फण्डले उत्पादन तथा प्रशोधन, ऊर्जा तथा जलविद्युत्, वित्तीय तथा लगानी सेवा, ई–कमर्स तथा सूचना प्रविधि, पर्यटन, स्वास्थ्य, रियल इस्टेट, पूर्वाधार, कृषि, होटल तथा रेष्टुरेन्ट र खनिज उत्खनन तथा प्रशोधनलगायतका क्षेत्रमा लगानीका अवसर पहिचान गर्नेछ ।

स्वीकृत लगानी नीति र प्रचलित कानुनले अनुमति दिएका निजी क्षेत्रका अन्य सम्भावनायुक्त क्षेत्रमा समेत फण्डले लगानी गर्न सक्नेछ ।

सूर्यज्योति लाइफले फण्ड सञ्चालनबाट आफ्नो लगानी पोर्टफोलियो विस्तार हुनुका साथै कम्पनीको दीर्घकालीन वित्तीय रणनीति थप मजबुत हुने अपेक्षा गरेको छ । कम्पनीले बीमित, अभिकर्ता तथा अन्य सरोकारवालाको हितलाई ध्यानमा राख्दै पारदर्शी र जिम्मेवार लगानीलाई प्राथमिकता दिने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?