काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले आफूमाथि लागेका आर्थिक अनियमितताका आरोपहरूको निष्पक्ष छानबिन गर्न चुनौती दिएका छन् ।
बुधबार सिंहदरबारमा बसेको निर्वाचन प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपालको पोशाक खरिदसम्बन्धी अध्ययन उपसमितिको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।
उनले केही सञ्चार माध्यम र व्यक्तिहरूले आफूलाई जोडेर भइरहेका चर्चा र आरोपहरूको खण्डन गर्दै आफ्नो सम्पत्ति तथा आर्थिक स्रोतको उच्चस्तरीय छानबिनका लागि तयार रहेको बताए । उनले आफू माइतीघर मण्डलामा उभिएर छानबिनका लागि सहयोग गर्न तयार रहेको स्पष्ट पारे ।
उनले आफ्नो आर्थिक स्रोतबारे भइरहेका चर्चाप्रति असन्तुष्टि व्यक्त गर्दै ६० लाख दलित समुदायबाट संकलन भएको भनिएको ६० करोड रुपैयाँको हिसाव खोज्न आग्रह गरे ।
उनले आफूलाई सामान्य आर्थिक विवादमा नजोडी विदेशी दातृ निकाय, भारतीय र अमेरिकी सहयोगका नाममा भइरहेका चर्चालाई समेत समेटेर ‘ठूलो भोल्युम’को छानबिन गर्न व्यङ्ग्य गरे । सुनारले आफूलाई ‘हेडक्वाटर’बाट परिचालित समूहले नियोजित रूपमा बद्नाम गर्न खोजेको आरोप लगाए ।
उनले भने, ‘मलाई ६० लाख दलितले पार्टी खोल्न ६० करोड रुपैयाँ दिएको भनिएको छ भने १० करोड मात्र आएको भनिन्छ । बाँकी ५० करोड कहाँ गयो, त्यो पनि खोजिनुपर्यो । ममाथि उठेका सबै आरोपको निष्पक्ष छानबिन होस् भन्ने मेरो माग हो । भारत, अमेरिका वा अन्य देशबाट पैसा आएको, विभिन्न व्यक्ति तथा संस्थासँग मेरो सम्बन्ध रहेको, बालुवाटारमा घर किनेको वा सुन व्यवसायमा लगानी रहेको जस्ता आरोप छन् भने ती सबैको छानबिन गरियोस् । प्रमाण छ भने सार्वजनिक गरियोस्, छैन भने निराधार आरोप लगाउनेलाई पनि जवाफदेही बनाइयोस् । म त माईतीघरमा बसेर पनि छानबिनका लागि तयार छु । मेरो घरमा छापा हान्नुपर्छ भने हानियोस्, सम्पती छानबिन गर्नुपर्छ भने गरियोस् । तर आरोप लगाउने र आरोपित सबैको समान रूपमा छानबिन हुनुपर्छ । हेडक्वार्टर र त्यहाँका जिम्मेवार व्यक्तिहरूमाथि पनि प्रश्न उठेका छन् । त्यसैले मेरो चुनौती छ,मेरो मात्र होइन, आरोप लागेका सबैको घर, सम्पती र स्रोतको निष्पक्ष छानबिन गरौँ । म छानबिनबाट भाग्ने होइन, छानबिनलाई स्वागत गर्ने व्यक्ति हुँ । दोषी जो भएपनि कानूनअनुसार कठघरामा उभ्याउनुपर्छ ।’
उनले आफ्नो नाम जोडिएका विभिन्न आर्थिक मामिलाहरू र बालुवाटार जग्गा प्रकरणदेखि सुन पसलसम्मको लगानीको समेत निष्पक्ष छानबिन गर्न सम्बन्धित निकायलाई आह्वान गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया