मुगुमा घरमाथि पहिरो खस्दा तीन वर्षीय बालकको मृत्यु, दुई जना घाइते

लोकपथ
7
Shares

काठमाडौं । मुगुको कार्मारोङ गाउँपालिका–५ स्थित पुलु बजारमा घरमाथि ढुंगासहितको पहिरो खस्दा तीन वर्षीय एक बालकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

शनिबार बिहान करिब ४ बजे पेमा लामाको घरमा होटल सञ्चालन गरी बस्दै आएका छायाँनाथ रारा नगरपालिका–१३, तिर्पका ३२ वर्षीय जगनाथ बडुवाल, उनकी २७ वर्षीया श्रीमती सिर्जना बडुवाल र तीन वर्षीय छोरा रमेश बडुवाल सुतिरहेको अवस्थामा घरमाथिबाट पहिरो खसेको प्रहरीले जनाएको छ ।

पहिरोमा च्यापिएका रमेशलाई प्रहरी टोलीले तत्काल उद्धार गरी बिहान ४ः४८ बजे पुलु स्वास्थ्य चौकी पुर्‍याएको थियो। तर उपचारका क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

घटनामा जगनाथ र सिर्जना सामान्य घाइते भएका छन्। उनीहरूको पुलु स्वास्थ्य चौकीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

पहिरोका कारण उक्त घर पूर्ण रूपमा क्षतिग्रस्त भएको छ । साथै, आसपासका थप आठ घर उच्च जोखिममा परेपछि स्थानीय बासिन्दालाई सुरक्षित स्थानमा सारिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?