काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधानमन्त्री बालेन्द्र शाह निजी क्षेत्रप्रति सकारात्मक नरहेको आरोप लगाएका छन् ।
शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै सभापति थापाले प्रधानमन्त्री शाहका पछिल्ला अभिव्यक्ति र निर्णयहरूले सरकारको निजी क्षेत्रप्रतिको दृष्टिकोण सकारात्मक नरहेको देखाएको टिप्पणी गरे ।
उनले प्रधानमन्त्रीले देशको अर्थतन्त्रलाई कुन दिशामा लैजाने भन्ने विषयमा स्पष्ट आर्थिक नीति र प्राथमिकता तय गर्नुपर्ने बताए । तर, सरकारको ध्यान त्यसतर्फ पर्याप्त रूपमा जान नसकेको उनको भनाइ थियो ।
थापाले दुग्ध विकास संस्थान, हेटौँडा कपडा उद्योग र नेपाल औषधि लिमिटेडलगायत सरकारी उद्योग सञ्चालनको विषयलाई राज्यको समग्र आर्थिक नीतिसँग जोडेर हेर्नुपर्ने बताए । सरकारले आफैं उद्योग सञ्चालन गर्नेभन्दा अर्थतन्त्रमा निजी क्षेत्रको भूमिका विस्तार गर्ने नीति अघि सार्नुपर्नेमा उनले जोड दिए ।
उनले २०४६ सालपछि तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले खुला, उदार र बजारमुखी अर्थतन्त्रको बाटो रोजेको स्मरण गर्दै प्रधानमन्त्रीले रोज्ने आर्थिक बाटोले देशको भविष्य निर्धारण गर्ने बताए ।
तत्कालीन सरकारले निजी क्षेत्र र बजारलाई विश्वास नगरेको भए नेपालको आर्थिक विकासको आधार निर्माण हुन नसक्ने उनको दाबी थियो ।
‘अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन । मेरो आफ्नो बुझाइमा उहाँ निजी क्षेत्रलाई घृणा गर्नुहुन्छ । यो मैले अनुमानको आधारमा भनेको होइन । उहाँका पछिल्ला समयका कतिपय अभिव्यक्ति र निर्णयहरू त्यस्तै छन्,’ थापाले भने ।
सरकारी उद्योग सञ्चालनको विषयमा आफू विरोधी नरहेको स्पष्ट पार्दै उनले ती उद्योग सञ्चालनमा आएर नाफा कमाऊन् भन्ने आफ्नो शुभेच्छा रहेको बताए । तर, राज्य सञ्चालन गर्ने व्यक्तिले समग्र अर्थतन्त्रको अवस्था र त्यसमा राज्य तथा निजी क्षेत्रको भूमिकाबारे स्पष्ट दृष्टिकोण बनाउनुपर्ने उनको भनाइ थियो ।
थापाले सरकारले निजी क्षेत्रका लागि लगानीको वातावरण निर्माण गर्नुपर्नेमा समेत जोड दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया