रसुवा बाढीबाट डेढ लाख नागरिक प्रत्यक्ष रुपमा प्रभावित : होल्डिङ सेन्टरमा रहेका २५ जनालाई झाडापाखाला

लोकपथ
0
Shares

काठमाडौं । रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट रसुवा, नुवाकोट, धादिङलगायत जिल्लाका करिब डेढ लाख नागरिक प्रत्यक्ष प्रभावित भएको प्रारम्भिक आँकलन गरिएको छ ।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव डा.विकास देवकोटाले प्रदेश सरकार तथा सरकारका विभिन्न संयन्त्रमार्फत संकलन गरिएको तथ्यांकका आधारमा बाढी प्रभावित जनसंख्या करिब डेढ लाख रहेको जानकारी दिएका हुन् ।

शुक्रबार सिंहदरबारमा बसेको प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै उनले तथ्यांकमा केही तलमाथि हुनसक्ने बताए ।

सचिव देवकोटाका अनुसार बाढी प्रभावित क्षेत्रबाट उद्धार गरी होल्डिङ सेन्टरमा राखिएका २५ जनामा झाडापखालाको समस्या देखिएको छ । यस्तै, अन्य गम्भीर स्वास्थ्य समस्या नदेखिएको उनले जानकारी दिए । परेला रोगका बिरामी भने नभेटिएको उनको भनाइ छ ।

उनले पछिल्लो विपद्बाट स्वास्थ्य क्षेत्रले महत्वपूर्ण पाठ सिकेको भन्दै आगामी दिनमा निर्माण हुने स्वास्थ्य संरचनालाई जलवायु अनुकूल बनाउनुपर्नेमा जोड दिए ।

देवकोटाले भौगोलिक अवस्था र तापक्रमअनुसार भवन निर्माणको अवधारणा अघि बढाउनुपर्ने बताए । गर्मी र चिसो क्षेत्रका लागि भवन निर्माणको शैली फरक हुनुपर्ने भन्दै उनले स्वास्थ्यसम्बन्धी समस्या पर्दा सहज रूपमा सेवा लिन सकिने गरी नजिकका स्वास्थ्य सुविधाको अवस्थालाई समेत आधार बनाएर संरचना निर्माण गर्नुपर्ने बताए ।

उनका अनुसार स्वास्थ्य मन्त्रालयले पुनःस्थापना र पुनर्निर्माणका लागि ‘क्लाइमेट रेजिलेन्स स्ट्रक्चर’ सहितको मास्टरप्लान तयार गरिरहेको छ । मास्टरप्लान पूरा भएपछि समितिमा प्रस्तुत गर्ने उनले जानकारी दिए ।

‘अहिले बाढी प्रभावित क्षेत्रमा डेढ लाख जनसंख्या रहेको हाम्रो आँकलन हो । डेटा संकलनका लागि प्रदेश सरकार र हाम्रा च्यानलमार्फत तथ्यांक संकलन गरेका हौँ । केही तलमाथि हुनसक्छ,’ उनले भने ।

देवकोटाले आगामी दिनमा बन्ने स्वास्थ्य संरचनालाई जलवायु परिवर्तनका प्रभाव सहन सक्ने गरी निर्माण गर्न सबै क्षेत्रले गम्भीरतापूर्वक सोच्नुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?