काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद मोहन आचार्यले रसुवाबाढी प्रभावितहरुलाई तत्काल विशेष राहत प्याकेज ल्याउन सरकारसँग माग गरेका छन् ।
बिहीबार प्रतिनिधिसभाको बैठकमामा बोल्दै उनले बाढीबाट प्रभावित बालबालिकाको शिक्षाका लागि सरकारले विशेष शैक्षिक प्याकेज ल्याउनुपर्ने बताए ।
अभिभावक गुमाएका बालबालिकासँगै अभिभावक भएका परिवारका बालबालिकाको भविष्यसमेत संकटमा परेको उनको भनाई छ । होटल, पर्यटन तथा अन्य व्यवसायमा संलग्न व्यवसायीले सम्पत्ति गुमाउनुका साथै ऋणको भारसमेत खेप्नुपरेकोले उनीहरुलको लागी पनि सरकारले विशेष राहत तथा ऋणसम्बन्धी प्याकेज ल्याउनुपर्ने उनले बताए ।
उनले क्षति भएका क्षेत्रमा बीमा रकम शीघ्र उपलब्ध गराउन पनि सरकारसँग माग गरे ।
रसुवाको मुख्य आम्दानीका स्रोत हाइड्रोपावर, पर्यटन र रसुवागढी नाका रहेको उल्लेख गर्दै उनले बाढीका कारण त्यहाँका व्यवसायी, कर्मचारी तथा उद्यमी ठूलो संकटमा परेको बताए । उनका अनुसार रसुवामा काम गर्ने तथा व्यवसाय सञ्चालन गर्ने करिब ९० प्रतिशत व्यक्ति अहिले सम्पर्कविहीन छन् ।
‘रसुवा जिल्लाको मेन सोर्स अफ इन्कम हाइड्रोपावर, टुरिजम र रसुवागढी नाका थियो । रसुवाका धेरैजसो साथीहरू यही नेपालमा आफ्नो जीविकोपार्जन गर्छु भनेर ती रसुवामा काम गरेर बस्नुहुने ९० प्रतिशत मिसिङ छन् । रसुवामा पूर्वाधार मात्र बिग्रेको छैन, त्यहाँका सोसल अब्लिगेसनहरू आगामी दिनहरूमा झन् बढ्दै जान्छ । त्यसकारण म सरकारलाई आग्रह गर्न चाहन्छु, जति पनि उद्योग व्यवसायी गर्न रसुवा जिल्लामा बसेका ती भूभागहरूमा बसेर होटेल, पर्यटन अरू विभिन्न व्यवसायी गरेर बस्नेहरूको आज केही पनि छैन । उहाँहरू धेरैजसो जति बाँचेका छन्, ती बाँचेकालाई नि पीडा छ । लोनको भारले थिचेको छ । उहाँहरूले जान्नुभएको पेसा, व्यवसायीहरू आज केही छैन,’ सांसद आचार्यले भने, ‘बाढीले आफूसँग भएको श्रीसम्पत्ति सबै लगेको छ । उहाँहरू आफ्ना बालबच्चाको शिक्षाका बारेमा चिन्तित हुनुहुन्छ । अभिभावक नभएकाहरूको भविष्य त अन्धकार छँदै छ, अभिभावक भएकाहरूको पनि अन्धकार देखिराख्नुभएको छ । म सरकारलाई आग्रह गर्न चाहन्छु, यो शिक्षासम्बन्धी विशेष प्याकेज ल्याओस् । लोनसम्बन्धी उहाँहरूको अप्ठ्यारोलाई नेपाल सरकारले विशेष प्याकेज लिएर आएर फेरी उनीहरूको वर्तमान र फ्युचर देखाउने बाटोमा नेपाल सरकार लागोस भन्ने कुरा म जोडदारसँग माग गर्न चाहन्छु। र यो घटनाले धेरैजसो क्षति भएको ठाउँमा बीमालाई चाँडोभन्दा चाँडो कार्यान्वयन गर्नका लागि म हार्दिक अनुरोध गर्न चाहन्छु । अहिले पनि रसुवा जिल्लाको जति पनि राहतका विषयहरू छन्, १३ वटा वडामा हामीसँग एअरलिफ्टबाहेक अरू कुनै माध्यम छैन । म सङ्घीय सरकार र प्रदेश सरकारलाई रसुवा जिल्लासँग सडक सञ्जाल जोड्नका लागि भएका सञ्जालहरू छिटोभन्दा छिटो सडक सञ्जाल जोड्दिनका लागि पनि आग्रह गर्न चाहन्छु ।’
उनले विपद्पछिको उद्धार कार्य पनि प्रभावकारी बन्न नसकेको बताउँदै हाइड्रोपावरका टनेलमा उद्धारका लागि अपनाइएको दृष्टिकोण गलत भएको नागरिकको गुनासो आएको उनको भनाई छ ।
सांसद आचार्यले सडक सञ्जालबाट विच्छेद भएपछि बाढीप्रभावित क्षेत्रमा राहत पुर्याउन कठिन भएको बताए । संघीय र प्रदेश सरकारलाई सडक सञ्जाल तत्काल पुनःस्थापना गर्न उनले आग्रह गरे । विपद्का कारण रसुवाका नागरिकको मानसिक स्वास्थ्यमा समेत गम्भीर असर परेको उनको भनाई छ ।
विगतको भूकम्पपछिको पुनर्निर्माणजस्तो ढिलाइ नगरी विपद्पछिको पुनर्निर्माणलाई तीव्र गतिमा अघि बढाउन पनि उनले सरकारसँग माग गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया