काठमाडौं । नेपाल राष्ट्र बैंकले वित्तीय प्रणालीमा रहेको अतिरिक्त तरलता व्यवस्थापनका लागि आज शुक्रबार बजारबाट ७० अर्ब रुपैयाँ तान्ने भएको छ ।
राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले ५६ दिनका लागि निक्षेप संकलन उपकरणमार्फत उक्त रकम संकलन गर्न लागेको हो । यसको बोलकबोल प्रक्रिया आज दिउँसो ३ बजेसम्म राष्ट्र बैंकको अनलाइन बिडिङ सिस्टममार्फत सञ्चालन हुनेछ ।
निक्षेप संकलनको निष्कासन मिति पनि भदौ २६ गते नै तोकिएको छ । यसको साँवा तथा ब्याज भुक्तानी आगामी कात्तिक २० गते गरिने राष्ट्र बैंकले जनाएको छ । उक्त उपकरणको ब्याजदर बोलकबोलबाटै निर्धारण हुनेछ ।
राष्ट्र बैंकबाट अनुमतिप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले मात्र बोलकबोलमा सहभागी हुन पाउनेछन् । सहभागी संस्थाले न्यूनतम १० करोड रुपैयाँदेखि कुल आह्वान रकमको सीमासम्म बोलकबोल गर्न सक्नेछन् ।
बोलकबोल रकम १० करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी प्रस्ताव गर्नुपर्नेछ । निक्षेप संकलन उपकरणको बोलकबोल ब्याजदरमा गर्नुपर्ने व्यवस्था छ भने सहभागीले बहुब्याजदरमा पनि एकभन्दा बढी बोलकबोल गर्न सक्नेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया