काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बन्द तथा समस्याग्रस्त सरकारी उद्योग सञ्चालनको जिम्मेवारी निजी क्षेत्रलाई नै दिने सरकारको नीति रहेको बताएका छन् ।
शुक्रबार नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २८औँ साधारणसभामा बोल्दै अर्थमन्त्री वाग्लेले सरकारले आफैं उद्योग सञ्चालन गर्न लागेको भन्ने भाष्य गलत भएको स्पष्ट पारे ।
उनले सरकारी स्वामित्वका उद्योगको सम्पत्ति तथा दायित्व व्यवस्थापन गरी निश्चित प्रक्रिया पूरा गरेर निजी क्षेत्रलाई सञ्चालनको जिम्मेवारी दिने तयारी भइरहेको बताए ।
वाग्लेका अनुसार गोरखकाली रबर उद्योग, हेटौँडा सिमेन्ट, उदयपुर सिमेन्टलगायत सातवटा सरकारी उद्योग तथा निकायको विस्तृत मूल्यांकन (डीडीए) गरिएको छ । डीडीएको निष्कर्षका आधारमा सरकारी जग्गा तथा सम्पत्तिको व्यवस्थापन गरी निजी क्षेत्रलाई उद्योग सञ्चालन गर्न दिन सकिने उनले बताए ।
विगतमा उत्पन्न विवादित विषयमा नअल्झिई निजी क्षेत्रलाई अपरेसनल लिजमा उद्योग सञ्चालन गर्न दिने वातावरण बनाइने उनको भनाइ छ । तर, उद्योग निजी क्षेत्रलाई दिनुअघि लामो समयदेखि थुप्रिएका ऋण, ब्याज, साँवा लगायतका आर्थिक दायित्व व्यवस्थापन गर्नुपर्नेमा उनले जोड दिए ।
‘सरकारले उद्योग नै चलाउन थाल्यो कि भन्ने छ । हामीले धुलो टक्टक्याएका हौँ । यसलाई एउटा निश्चित बिन्दुमा पुर्याएर निजी क्षेत्रलाई नै दिने हो,’ उनले भने ।
अर्थमन्त्री वाग्लेले विगतका विवादमा नअल्झिई सरकारी सम्पत्ति र दायित्व व्यवस्थापन गर्ने तथा निजी क्षेत्रलाई सञ्चालनको जिम्मेवारी दिने गरी सरकार अघि बढिरहेको बताए ।
उनले सरकारले निजी क्षेत्रको वैध नाफामाथि शंका गर्नेभन्दा निष्पक्ष प्रतिस्पर्धाको वातावरण निर्माण गर्नेतर्फ ध्यान केन्द्रित गरेको पनि बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया