पूर्वी नेपालमा विद्युत् आपूर्ति सुधार्न प्राधिकरणको उच्च नेतृत्व फिल्डमा, पूर्वाधार अनुगमन तीव्र

लोकपथ
14
Shares

काठमाडौं । पूर्वी नेपालमा गुणस्तरीय, भरपर्दो र नियमित विद्युत् आपूर्ति सुनिश्चित गर्न नेपाल विद्युत् प्राधिकरणको उच्च नेतृत्व मोरङ र सुनसरीका विद्युत् पूर्वाधार तथा वितरण प्रणालीको स्थलगत अनुगमनमा जुटेको छ ।

विराटनगरसहित पूर्वी क्षेत्रमा पटक–पटक विद्युत् अवरुद्ध हुने तथा झ्याप्पझ्याप्प बत्ती जाने समस्याबारे जनगुनासो बढेपछि ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले तत्काल समस्या समाधानका लागि आवश्यक पहल गर्न प्राधिकरण नेतृत्वलाई निर्देशन दिएका थिए ।

सोही निर्देशनअनुसार नेपाल विद्युत् प्राधिकरणका कायममुकायम कार्यकारी निर्देशक दीर्घायूकुमार श्रेष्ठ र वितरण तथा ग्राहक सेवा निर्देशनालयका प्रमुखसमेत रहेका उपकार्यकारी निर्देशक राजन ढकालको नेतृत्वमा रहेको टोली अनुगमनका लागि पूर्वी क्षेत्रमा पुगेको ऊर्जा मन्त्री श्रेष्ठको निजी सचिवालयले जनाएको छ ।

अनुगमनका क्रममा प्राधिकरणको उच्च नेतृत्वले प्रादेशिक कार्यालय प्रमुख तथा मोरङ, सुनसरीलगायत जिल्लाका वितरण शाखा प्रमुखसँग विद्युत् आपूर्तिको वर्तमान अवस्था, देखिएका समस्या र समाधानका उपायबारे विस्तृत छलफल गरेको छ । साथै, २४ जना कार्यालय तथा केन्द्र प्रमुखसँगको समन्वयात्मक बैठकमा सेवा प्रवाहलाई प्रभावकारी बनाउन आवश्यक निर्देशन दिइएको प्राधिकरणले जनाएको छ ।

टोलीले ट्रान्सफर्मर मर्मत कार्यशालाको निरीक्षण गर्नुका साथै दुहबी ग्रिड महाशाखाअन्तर्गतको दुहबी सबस्टेसनको अवस्था अवलोकन गर्दै आवश्यक तयारीलाई तीव्र बनाउन निर्देशन दिएको छ ।

त्यसैगरी, सुनसरीको बर्जुस्थित १३२ केभी सबस्टेसन निर्माण तीन महिनाभित्र सम्पन्न गर्ने लक्ष्यसहित कर्मचारी र निर्माण कम्पनीलाई स्पष्ट कार्यादेश दिइएको छ । मोरङको केरङस्थित सबस्टेसन पनि एक महिनाभित्र सम्पन्न गर्ने गरी कार्यतालिका बनाएर निर्माण कार्य अघि बढाउन निर्देशन दिइएको प्राधिकरणले जनाएको छ ।

रणनीतिक रूपमा महत्वपूर्ण मानिएका यी दुवै सबस्टेसनको निर्माण समयमै सम्पन्न गराउन आवश्यक समन्वय र सहजीकरण गर्न कर्मचारीलाई निर्देशन दिइएको छ भने पर्याप्त मजदुर परिचालन गर्न ठेकेदार कम्पनीलाई समेत आग्रह गरिएको ऊर्जा मन्त्री श्रेष्ठको निजी सचिवालयले जनाएको छ ।

नेपाल विद्युत् प्राधिकरणका अनुसार पूर्वी क्षेत्रमा सञ्चालित अन्य विद्युत् आयोजना, प्रादेशिक कार्यालय तथा वितरण शाखाहरूको अनुगमनसमेत निरन्तर जारी रहेको छ । विद्युत् सेवालाई थप भरपर्दो, गुणस्तरीय र दिगो बनाउन कर्मचारीलाई जिम्मेवारीपूर्वक काम गर्न तथा आवश्यक समन्वयलाई प्रभावकारी बनाउन निर्देशन दिइएको प्राधिकरणले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?