सर्लाही । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको भूमिगत जलश्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयका डिभिजन प्रमुख र एक अधिकृतलाई साढे ७ लाख रुपैयाँ घुससहित पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा डिभिजन प्रमुख अनुपमा ढकाल र मेकानिकल अधिकृत तुलाकान्त चौधरी रहेका छन् । उनीहरूलाई अख्तियारको बर्दिबास कार्यालयबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो ।
अख्तियारका अनुसार बोरिङ र मोटर जडानको काम सकिएपछि भुक्तानी गर्न सेवाग्राहीसँग घुस मागिएको थियो । यसबारे उजुरी परेपछि अख्तियारले निगरानी गरेर दुवै जनालाई सेवाग्राहीबाट ७ लाख ५० हजार रुपैयाँ घुस लिइरहेको अवस्थामा पक्राउ गरेको हो ।
उनीहरूलाई बागमती नगरपालिका–१२ स्थित डिभिजन प्रमुखको सरकारी क्वार्टरबाट नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ ।
खानतलासीका क्रममा घुसबापतको ७ लाख ५० हजार रुपैयाँ, स्रोत नखुलेको थप ७१ हजार ११५ रुपैयाँ र तीन वटा मोबाइल फोन पनि बरामद भएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया