काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागसहितको टोलीले पेप्सीकोलास्थित वरुण बेभरेज प्रालिमा स्थलगत अनुगमन गरेको छ ।
वरुण बेभरेजले उत्पादन र बिक्री गर्दै आइरहेको पेय पदार्थ सेभेन अप (7UP) मा बाह्य पदार्थ भेटिएको गुनासोपछि विभागसहितको टोलीले बिहीबार अनुगमन गरेको हो ।
अनुगमनका क्रममा उत्पादन गरी उद्योगमा भण्डारण गरिएको ‘सेभेन अप’ मा कुनै बाह्य पदार्थ नपाइएको तर ब्याच नं B006 उत्पादन मिति 16-04-2-2026 को प्याकिङ बोतलभित्र भने प्लाटिकको टुक्रा भेटिएको थियो ।
उपभोक्ताको उजुरीपछि अनुगमनका लागि पुगेको विभागको टोलीले अन्य पेय पदार्थमा भने कुनै कैफियत नभेटिएको विभागकी वरिष्ठ खाद्य अनुसन्धान अधिकृत एवं प्रवक्ता डा. बालकुमारी शर्माले लोकपथलाई जानकारी दिइन् ।
‘एउटा प्याकिङ बोतलमा प्लास्टिकको टुक्रा भेटिएको थियो । तर उद्योगमै गएर अनुगमन गर्दा अन्य बोतलमा कुनै कैफियत भेटिएन,’ शर्माले लोकपथसँग भनिन् ।
विभागले कैफियत देखिएको बोतल र अन्य नमुना संकलन गरी प्रयोगशाला परीक्षणका लागि पठाएको छ । मानव स्वास्थ्यका लागि ख्याल गर्दै प्रयोगशाला परीक्षणको रिपोर्ट नआन्जेलसम्मका लागि सेभेन अपको उत्पादनमा रोक र सो ब्याचको सेभेन अपको बिक्री वितरणमा रोक लगाइएको डा. शर्माको भनाइ रहेको छ ।
‘हामीले नमुना संकलन गरी प्रयोगशाला परीक्षणका लागि पठाएका छौँ । मानव स्वास्थ्यलाई ख्यालमा राख्दै तत्कालका लागि सो ब्याचको सेभेन अप बिक्री वितरण तथा सेभेनअपको उत्पादनलाई रोक लगाएका हौँ,’ उनले भनिन् ।
प्रयोगशाला परीक्षणमा सकारात्मक रिपोर्ट आएपछि उत्पादन र बिक्री वितरणमा कुनै बाधा नपर्ने विभागले जनाएको छ ।
यता विभागले उद्योगमा प्रशोधन तथा भण्डारणमा रहेको पेय पदार्थमा कुनै बाह्य पदार्थ नरहेको समेत स्पष्ट पारेको छ ।
‘उद्योगमा प्रशोधन तथा भण्डारणमा कुनै पनि बाह्य पदार्थ भएको ठग्ए को बोतल नपाइएको,’ विभागले भनेको छ ।
अनुगमनका क्रममा बोतल वासिङ सिस्टम अन्तर्गत सात चरण (सेभेन स्टेप) वासिङ सिस्टम रहेको, बोतल फिल गर्नुभन्दा अघि चार चरण (फोर स्टेप) लाइट चेकिङ सिस्टम र बोतल फिलिङ्ग पछाडी एक मेटल डिटेक्टर डिटेक्सन तथा अन्तिममा एकपपटक फाइनल लाइट इन्स्पेक्सन सिस्टम रहेको पाइएको छ ।
‘उद्योगबाट उत्पादित सेभेन अप ब्राण्डको ब्याच नं B006 उत्पादन मिति 16-04-2-2026 को sweetened carbonated water मा बाह्य पदार्थ’ पाइएको भन्दै विभागमा उजुरी परेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया