काठमाडौं । नेपालमा पेप्सी, माउन्टेन ड्यू लगायतका चिसो पेय पदार्थको उत्पादन तथा बिक्री गर्दै आएको वरुण बेभरेज (नेपाल) प्रालिले फेरि पनि अति उत्तम क्रेडिट रेटिङ प्राप्त गरेको छ ।
ईक्रा नेपालले अल्पकालीन ऋण सीमाका लागि गरेको क्रेडिट रेटिङमा कम्पनीले फेरि पनि अति उत्तम अर्थात् ‘ए वान प्लस’ रेटिङ प्राप्त गरेको हो ।
रेटिङ एजेन्सी ईक्रा नेपालले आफ्नो वेबपेजमा राखेको वरुण बेभरेजको रेटिङ सम्बन्धी रिपोर्टमा कम्पनीको वित्तीय अवस्था सुदृढ रहेको, नगद प्रवाह पर्याप्त र ऋण निर्भरता न्यून रहेको देखिएको छ । कम्पनीले आफ्नो सञ्चालन मुनाफामा लगातार बढोत्तरी भएको, सञ्चालनगत नगद प्रवाह कायम राखेको र ऋण तिर्ने क्षमता उच्च रहेको देखिएको हो ।
के हो ईक्रा नेपालको ‘ए वान प्लस’ रेटिङ ?
आइसीआरए नेपाल अर्थात् ईक्रा नेपाल नेपालकै पहिलो क्रेडिट रेटिङ संस्था हो । यसले कम्पनीहरूको वित्तीय क्षमता, ऋण फिर्ता गर्ने क्षमता, नगद प्रवाह तथा सञ्चालन क्षमताका आधारमा मूल्यांकन गर्ने गर्दछ । ‘ए वान प्लस’ रेटिङ अल्पकालीन कर्जाको क्षेत्रमा सबैभन्दा उच्च श्रेणीको रेटिङ हो । यस रेटिङले कम्पनीले छोटो अवधिमै आफ्नो वित्तीय दायित्व पूरा गर्ने अत्यन्त बलियो क्षमता राख्दछ भन्ने जनाउँछ ।
वरुण बेभरेजले किन पायो ‘अति उत्तम’ रेटिङ ?
ईक्रा नेपालका अनुसार वरुण बेभरेजलाई उच्चतम रेटिङ दिनुको मुख्य कारण यसको उत्कृष्ट वित्तीय प्रदर्शन हो ।
कम्पनीको खर्च र आम्दानी अनुपातमा सन्तुलन मिलेको, बजार हिस्सामा २ प्रतिशतले वृद्धि भएको, ऋण–स्वामित्व अनुपात न्यून रहेको र नगद सञ्चिति उच्च रहेको पाइएको छ ।

ईक्रा नेपालका अनुसार वरुण वेभरेजको कुल बजार हिस्सा ४१ प्रतिशतबाट बढेर ४३ प्रतिशत पुगेको छ । यो रेटिङ आर्थिक वर्ष (सन् २०२५) को पहिलो ९ महिना अवधिको हो ।
यस्तो छ कम्पनीको प्रमुख वित्तीय सूचकहरू :
– कम्पनीको ऋण स्वामित्व अनुपात ०.४ गुणा मात्र रहेको (अर्थात् कुल पुँजीको ४० प्रतिशत मात्र ऋण)
– ब्याज तिर्ने क्षमता २६.९ गुणा (अर्थात् एक वर्षको नाफाले करिब २७ वर्षसम्मको ब्याज तिर्न सक्ने)
– कम्पनीसँग २ अर्ब ६० करोड रुपैयाँ नगद सञ्चिति (अप्रिल २०२६ सम्म) रहेको
बजार हिस्सा बढेर ४३ प्रतिशत पुग्यो, माउन्टेन ड्यू ‘हिरो प्रोडक्ट’
गत आर्थिक वर्षको पहिलो ९ महिनाको अवधिमा कम्पनीको कुल बजार हिस्सा अर्थात् नेपालमा बिक्री हुने पेय पदार्थमध्ये ४१ प्रतिशत मात्रै रहेकामा अहिले यसको बजार हिस्सा बढेर ४३ प्रतिशत पुगेको पाइएको छ । नेपालको चिसो पेय पदार्थ उद्योगमा यो दोस्रो सबैभन्दा ठूलो हिस्सा हो ।
कम्पनीको कुल आम्दानीको ८३ देखि ८६ प्रतिशत ‘माउन्टेन ड्यू’ को उत्पादनबाट मात्रै प्राप्त हुने गरेको पाइएको छ । अर्थात् वरुण बेभरेजको हिरो प्रोडक्टका रुपमा माउन्टेन ड्यू रहेको र नेपाली बजारमा माउन्टेन ड्यूको अत्यधिक लोकप्रियता रहेको देखिएको छ । उस्तै स्वाद भएको यस्तो उत्पादनको अर्को विकल्प नभएको कारण पनि ड्यूको माग बढेको रेटिङ एजेन्सीको भनाइ छ ।
वरुण बेभरेजका उत्पादनहरू
वरुण बेभरेज नेपालले पेप्सी, माउन्टेन ड्यू, स्लाइस, मिरिन्डा, सेभेन अप, अक्वाफिना पानी, सोडा तथा स्ट्रिङ एनर्जी ड्रिंक्सको उत्पादन तथा बिक्री वितरण गर्दै आएको छ । वरुण बेभरेज नेपाल २०४२ सालदेखि पेप्सीको अधिकृत उत्पादक तथा वितरकका रूपमा रहेको छ ।

वरुण बेभरेज (नेपाल) प्रालि वरुण बेभरेज लिमिटेड, भारतको शतप्रतिशत शेयर स्वामित्व सहायक कम्पनी हो ।
भारतीय मूल कम्पनीले नेपाल, श्रीलंका, भारत लगायत विभिन्न देशहरूमा पेप्सी लगायतका पेय पदार्थको उत्पादन तथा बिक्री वितरण गर्ने गर्दछ ।
ईक्रा नेपालका अनुसार कम्पनीको बलियो व्यावसायिक प्रदर्शन, न्यून ऋण, उच्च नगद सञ्चिति आदि कारणबाट कम्पनीको आर्थिक अवस्था सुदृढ रहने देखिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया