काठमाडौं । सरकारले हस्तकला क्षेत्रका समस्या समाधानका लागि हस्तकला विकास बोर्ड स्थापना गर्ने भएको छ ।
प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ ले बुधबार नेपाल हस्तकला महासंघका पदाधिकारीसँग गरेको छलफलमा सरकार र निजी क्षेत्रको समन्वयमा बोर्ड गठन गर्ने प्रक्रियालाई अगाडी बढाउने सहमति भएको हो ।
प्रधानमन्त्रीसँगको भेटपछि सञ्चारकर्मीसँग कुरा गर्दै महासंघका अध्यक्ष रविन्द्र शाक्यले हस्तकला क्षेत्रका समस्या समाधानका लागि सरकार र निजी क्षेत्रको समन्वयमा हस्तकला विकास बोर्ड स्थापना गर्ने अवधारणामा सहमति जुटेको जानकारी दिए ।
यसले हस्तकला क्षेत्रका चुनौतीहरूको समग्र मूल्यांकन गर्दै समाधानका लागि नीतिगत पहल गर्ने उनको भनाई छ ।
उनले भने, ‘प्रधामन्त्रीसँग असाध्यै सकारात्मक छलफल भएको छ, हाम्रो अनुभवमा अहिलेसम्मको यतिको गहन छलफल भएको थिएन, प्रधानमन्त्रीसँग देश विकासको हुटहुटी छ, रोजगार सृजनाको लागी गम्भीर हुनुहुन्छ । छलफलमा हामीले व्यावहारिक कुराहरू मात्रै गर्यौँ । हस्तकला महासंघले विगत १५ वर्षदेखि हस्तकला दिवस मनाइराखेको छौँ, त्यसलाई राष्ट्रियकरण गर्नुपर्ने हामीले माग राख्यौँ, उहाँले तुरुन्तै सम्बन्धित निकायमा पहल गरेर सकारात्मक निर्णय गर्छौं भन्नुभयो । आजको छलफलको सबैभन्दा महत्वपूर्ण कुरा, हस्तकला क्षेत्रमा भएका समस्याहरू, चुनौती र अवसरहरूलाई हामीले समष्टिगत रूपमा मूल्यांकन गर्न यसको निराकरण गर्नको लागि हस्तकला विकास बोर्ड खडा गर्ने भन्ने असाध्यै राम्रो अवधारणा हामीले संयुक्त रूपमा बनाउन सफल भयौँ । यो नै सबैभन्दा ठूलो कुरा हो । नेपाल सरकार र प्राइभेट सेक्टरहरूको बीचमा समन्वय गरेर हस्तकला विकास बोर्ड खडा गर्ने कुरा भएको छ । त्यसमा निकासी सम्बन्धी मुद्दाहरू सम्बन्धित निकायसँग समन्वय गरेर गर्ने कुरा छ । अहिले जुन क्यास इन्सेन्टिभ र यो भ्याटको इस्युजहरू आएको छ, त्यसलाई सम्बोधन गर्नुपर्ने, हस्तकलाकर्मी, कलाकारहरूको परिचय दिने र विगत केही वर्षदेखि थातीमा रहेको हस्तकला सार्क हस्तकला विकास केन्द्रको अवधारणा कार्यान्वयन गर्न यथाशीघ्र सम्बन्धित निकायसँग समन्वय गरेर यसलाई सञ्चालनमा ल्याउनुपर्छ भन्ने छलफल भयो । क्यास इन्सेन्टिभ र यो भ्याटको विषयलाई पनि अहिले कार्यविधिहरू बन्दैछ, यसलाई सकारात्मक रूपमा हामीले समन्वय गरेर यसलाई निराकरण गर्छौं भन्ने प्रधामन्त्रीको कुरा छ । नीति निर्माणको कुराहरूमा पनि छलफल भएका छन्, हस्तकला र अरू वस्तुहरूलाई एउटै थलोमा राखेर नीति निर्माण गर्ने प्रावधानहरूलाई हटाएर नयाँ किसिमको हस्तकला नै हेर्ने एउटा नीति बनाउने विषयमा पनि सकरात्मक छलफल भएको छ । सातै प्रदेशमा हस्तकला ग्राम खडा गरेर रोजगार सिर्जना गर्न सकिने उहाँको हुटहुटी छ, त्यसमा हस्तकला महासंघ र विभिन्न सम्बन्धित निकायसँग सहकार्य गर्न सकिन्छ । सार्वजनिक रूपमा सरकारी र गैरसरकारी निकायमा हामीले संरचना निर्माणको क्रममा अलि कलात्मक रूपमा हस्तकलामय हुनुपर्छ भन्ने नेपाल सरकारको पनि अवधारणा र हाम्रो पनि माग हो, यसमा सम्बन्धित निकायसँग, सम्बन्धित निर्माण व्यवसायीसँग हस्तकला महासंघले सम्झौता गरेर यो कार्य अगाडि बढाउन सकिन्छ, सरकारको यसमा सकारात्मक सहयोग र समन्वय हुन्छ भनेर उहाँले भन्नुभएको छ । देशको हस्तकलालाई प्रोमोसन गर्ने, रोजगार कसरी सिर्जना गर्ने र हाम्रो छुट्टै पहिचान कसरी जेनेरेट गर्ने र निर्यात मार्फत हाम्रो देशको राजस्वलाई वृद्धि गर्ने भन्ने हाम्रो र उहाँको एउटै विचार देखियो । देश परिवर्तनमै गएको हो कि भन्ने हामीलाई महसुस भएको छ । यसलाई हामीले असाध्यै सकारात्मक रूपमा लिएका छौँ ।’
प्रधानमन्त्री शाहले हस्तकला सामग्री निर्यात गर्दा व्यवसायीहरुले पाउनुपर्ने सोको पाँच प्रतिशत रकमलाई पनि निरन्तरता दिने प्रतिवद्धता जनाए । सो रकम तीन वर्षयता रोकिएको महासंघले जनाएको छ ।
उपत्यकामा हस्तकला ग्राम खडा गर्ने र सातै प्रदेशमा हस्तकला सम्बन्धी सीप प्रशिक्षण केन्द्र खोल्ने विषयमा प्रधानमन्त्री शाहले विशेष चासो देखाएको महासंघका अध्यक्ष शाक्यले बताए ।
यसबाहेक निर्माण व्यवसायीसँगको सहकार्यमा कलात्मक संरचना निर्माण गर्न दुई पक्षबीच सम्झौताका लागि प्रधानमन्त्री सकरात्मक रहेको अध्यक्ष शाक्यको भनाई छ ।
नेपालको हस्तकला उद्योगले वार्षिक करिव २७–२८ अर्ब रुपैयाँ बराबरको निर्यात गर्ने गरेको महासंघले जनाएको छ ।
महासंघकाअनुसार हाल ८२ प्रकारका नेपाली हस्तकला सामग्री ६० देशमा निर्यात भइरहेको छ । अनलाइन बजार विस्तार, युवा सहभागिता र सहज नीतिगत वातावरण सिर्जना गर्न सके हस्तकला क्षेत्रले निर्यात, राजस्व वृद्धि र रोजगारी सिर्जनामा अझ ठूलो योगदान पुर्याउन सक्ने महासंघले जनाएको छ । प्रधानमन्त्रीसंगको छलफलमा महासंघका अध्यक्ष शाक्यसंगै वरिष्ठ उपाध्यक्ष राजमान बज्राचार्य, उपाध्यक्ष किरणकुमार स्थापित, सल्लाहकार विकास रत्न ढाक्वा र शीर्ष निर्यातकर्ता महेश्वर श्रेष्ठ सहभागी रहेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया