काठमाडौं । प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले तयारी पोसाक उद्योगले लामो समयदेखि भोग्दै आएका समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीसँग भएको भेटमा उनले उद्योगका समस्या समाधान, उत्पादन बढाउने र निर्यात प्रवर्द्धन गर्ने कामलाई सरकारले प्राथमिकतामा राख्ने बताए ।
संघका अध्यक्ष पशुपतिदेव पाण्डेका अनुसार भेटमा प्रधानमन्त्री शाहले तयारी पोसाक उद्योगको अहिलेको अवस्था, समस्या र सम्भावनाबारे जानकारी लिएका थिए । साथै, सन् २००५ अघिको जस्तै अवस्थामा उद्योगलाई पुनः सक्रिय बनाउने विषयमा पनि छलफल भएको थियो ।
प्रधानमन्त्रीले विभिन्न मन्त्रालयमा लामो समयदेखि रोकिएका उद्योगसम्बन्धी काम छिटो टुंग्याउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।
उनले करिब २० वर्षदेखि बन्द रहेका तयारी पोसाक उद्योग पुनः सञ्चालनमा ल्याउने, आयात घटाउने र नेपाली उत्पादनको निर्यात बढाउने सरकारको योजना रहेको पनि बताए ।
कपडा तथा पोसाक उद्योगलाई थप मजबुत बनाउन टेक्स्टाइल काउन्सिल गठन गर्ने र यस क्षेत्रलाई राष्ट्रिय अर्थतन्त्रको महत्वपूर्ण आधारका रूपमा विकास गर्ने प्रतिबद्धता पनि प्रधानमन्त्रीले व्यक्त गरेका छन् ।
त्यसैगरी, अमेरिकामा निर्यात हुने नेपाली तयारी पोसाकको ल्याब परीक्षण (ल्याब टेस्ट) प्रक्रियामा देखिएको समस्या समाधान गर्न परराष्ट्र मन्त्रालयमार्फत आवश्यक पहल गर्न पनि प्रधानमन्त्रीले निर्देशन दिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया