काठमाडौं । चिनियाँ राष्ट्रपतिले प्रयोग गर्ने लक्जरी कार ब्रान्ड हङसी अब नेपाली बजारमा पनि उपलब्ध हुने भएको छ । यो ब्रान्डका विद्युतीय (इलेक्ट्रिक) एसयूभी गाडीहरू नेपाल मोबिलिटी एक्स्पो (नाइमा) २०२६ मा पहिलो पटक सार्वजनिक गरिन लागेको हो ।
हङसीलाई नेपालमा एडभान्स्ड अटोमोबाइल प्रालिले भित्र्याएको हो । कम्पनीले यसअघि फ्रान्सेली ब्रान्ड रेनोका गाडी बिक्री गर्दै आएको थियो । हङसीसँग आधिकारिक बिक्रेताको सम्झौता गरेपछि कम्पनीले नेपालमा यसको विद्युतीय गाडी आयात सुरु गरेको हो ।
सुरुवातमा कम्पनीले ई–एचएस–९ र ई–एचएस–७ नामका दुई विद्युतीय एसयूभी नेपाली बजारमा ल्याउने तयारी गरेको छ । यी गाडीमा प्रयोग हुने ब्याट्री र मोटरको क्षमता भने अहिलेसम्म सार्वजनिक गरिएको छैन । प्रारम्भिक मूल्य ६० देखि ६५ लाख रुपैयाँको हाराहारीमा रहने अनुमान गरिएको छ ।
हङसीले पेट्रोल, हाइब्रिड र पूर्ण विद्युतीय गाडी उत्पादन गर्दै आए पनि पछिल्ला वर्षमा कम्पनीले विद्युतीय सवारीमा बढी ध्यान दिएको छ ।
सन् १९५८ मा चीनको सरकारी स्वामित्वको एफएडब्लू ग्रुपले हङसी ब्रान्ड स्थापना गरेको हो । ‘हङसी’को अर्थ ‘रातो झण्डा’ हो। सुरुमा यो गाडी चीनका उच्च सरकारी अधिकारी र विदेशी राष्ट्रप्रमुखका लागि मात्रै प्रयोग हुने गर्थ्यो । सन् २०१८ पछि कम्पनीले सर्वसाधारण ग्राहकका लागि पनि गाडी बिक्री गर्न थालेको हो ।
कम्पनीका अनुसार सन् २०२५ मा हङसीले विश्वभर ४ लाख ६० हजारभन्दा बढी गाडी बिक्री गरेको थियो । तीमध्ये करिब १ लाख ४९ हजार नयाँ ऊर्जा (इलेक्ट्रिक तथा अन्य वैकल्पिक ऊर्जा) सवारी रहेका थिए ।
हाल हङसीले चीनको प्रिमियम कार बजारमा बीएमडब्ल्यू र मर्सिडिज–बेन्जसँग प्रतिस्पर्धा गरिरहेको छ । कम्पनीले युरोप, मध्यपूर्व र दक्षिणपूर्वी एसियामा पनि आफ्नो बजार विस्तार गरिरहेको छ। यसको ई–एचएस९ मोडललाई आकर्षक डिजाइनका कारण ‘चिनियाँ रोल्स–रोयस’ भनेर समेत चिनिने गरिएको छ ।
हङसीले सन् २०२८ सम्म युरोपका २५ देशमा १५ नयाँ विद्युतीय तथा हाइब्रिड मोडल सार्वजनिक गर्ने र २०० भन्दा बढी डिलर नेटवर्क विस्तार गर्ने लक्ष्य राखेको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया