काठमाडौं । नयाँ आर्थिक वर्ष २०८३/८४ को अवसर पारेर गरिमा विकास बैंकले ग्राहकलाई थप सहज, सुरक्षित र आधुनिक बैंकिङ सेवा उपलब्ध गराउने उद्देश्यसहित तीन नयाँ प्रविधिमा आधारित सेवा सार्वजनिक गरेको छ ।
बैंकले गरिमा प्रिपेड डलर कार्ड, गरिमा पीओएस टर्मिनल र गरिमा इन्टरबैंक क्यूआर टेलर सेवाको औपचारिक शुभारम्भ गरेको जनाएको छ । यी सेवामार्फत बैंकले आफ्नो डिजिटल बैंकिङ इकोसिस्टमलाई थप विस्तार गर्ने लक्ष्य लिएको छ ।
बैंकका अनुसार, गरिमा प्रिपेड डलर कार्डमार्फत नेपाल राष्ट्र बैंकले तोकेको सीमा भित्र रही अन्तर्राष्ट्रिय वेबसाइट, मोबाइल एप तथा विभिन्न ई–कमर्स प्लेटफर्ममा अमेरिकी डलरमा सुरक्षित रूपमा अनलाइन भुक्तानी गर्न सकिनेछ ।
यस्तै, गरिमा पीओएस टर्मिनल सेवाले व्यवसायी तथा व्यापारीलाई डेबिट, क्रेडिट र प्रिपेड कार्डमार्फत छिटो, सुरक्षित र भरपर्दो डिजिटल भुक्तानी स्वीकार गर्ने सुविधा प्रदान गर्नेछ । यसले नगदरहित कारोबारलाई प्रोत्साहन गर्नुका साथै व्यापारिक कारोबारलाई थप व्यवस्थित र प्रभावकारी बनाउने बैंकको अपेक्षा छ ।
त्यसैगरी, गरिमा इन्टरबैंक क्यूआर टेलर सेवामार्फत फोनपे नेटवर्कमा आबद्ध अन्य बैंक तथा वित्तीय संस्थाका ग्राहकहरूले आफ्नो मोबाइल बैंकिङ एपबाट क्यूआर स्क्यान गरी गरिमा विकास बैंकको जुनसुकै शाखाबाट सहज रूपमा नगद प्राप्त गर्न सक्नेछन् ।
बैंकले यी सेवाले डिजिटल बैंकिङको पहुँच विस्तार गर्दै ग्राहकलाई आधुनिक, सुरक्षित र सहज वित्तीय सेवा उपलब्ध गराउन महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया