रौतहटका १८ स्थानीय तहमध्ये १५ वटा पालिकाले ल्याए बजेट

लोकपथ
0
Shares

रौतहट । रौतहट जिल्लाका १८ स्थानीय तहमध्ये १५ वटाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि नीति तथा कार्यक्रम तथा बजेट सार्वजनिक गरेका छन् । तीन स्थानीय तह भने अझै नगरसभा गर्न बाँकी रहेका छन् ।

समयमै नगरसभा सम्पन्न गरी बजेट प्रस्तुत गर्नेमा गौर, चन्द्रपुर, परोहा, मौलापुर, बौधीमाई, गुजरा, इशनाथ, देवाहीगुनाही, माधवनारायण, गढीमाई, राजपुर, वृन्दावन, राजदेवी नगरपालिका तथा दुर्गाभगवती र यमुनामाई गाउँपालिका रहेका छन् । कटहरिया, गरुडा र फतुवा विजयपुर नगरपालिकाले भने हालसम्म नगरसभा सम्पन्न गरेका छैनन् ।

जिल्लाकै सबैभन्दा ठूलो चन्द्रपुर नगरपालिकाले आगामी आवका लागि १ अर्ब २१ करोड ८० लाख रुपैयाँको बजेट विनियोजन गरेको छ । नगरप्रमुख सञ्जयकुमार काफ्ले र उपप्रमुख जयमाला चौधरीले १७औँ नगरसभामार्फत बजेट पारित गरिएको जानकारी दिए ।

गौर नगरपालिकाले १८औँ नगरसभाबाट ५३ करोड ८८ लाख रुपैयाँभन्दा बढीको बजेट सार्वजनिक गरेको छ । नगरप्रमुख शम्भु साहले नगरको समग्र विकास, सुशासन र समृद्धिलाई प्राथमिकतामा राखेर बजेट तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।

मौलापुर नगरपालिकाले करिब ४२ करोड रुपैयाँको बजेट ल्याएको छ । नगरप्रमुख रिनाकुमारी साहका अनुसार ‘नगर मास्टर’ र ‘नगर डाक्टर’ कार्यक्रमलाई निरन्तरता दिइएको छ भने निःशुल्क बिजुली, निःशुल्क खानेपानी तथा ‘छोरीसँग मेयर कार्यक्रम’लाई थप प्रभावकारी बनाइने घोषणा गरिएको छ ।

गढीमाई नगरपालिकाले ५९ करोड २२ लाख ५५ हजार रुपैयाँको बजेट विनियोजन गरेको छ । नगरप्रमुख श्याम यादवका अनुसार चालुतर्फ ४० करोड ९० लाख ४७ हजार रुपैयाँ र पुँजीगततर्फ १८ करोड ३२ लाख ८ हजार रुपैयाँ छुट्याइएको छ ।

बौधीमाई नगरपालिकाले ६३ करोड ९६ लाख ४ हजार रुपैयाँको वार्षिक बजेट प्रस्तुत गरेको छ। १२औँ नगरसभामा उपप्रमुख प्रमिला देवीले बजेट प्रस्तुत गरेकी थिइन् ।

वृन्दावन नगरपालिकाले आगामी आवका लागि ६० करोड ९२ लाख २५ हजार ८८१ रुपैयाँको बजेट सार्वजनिक गरेको छ भने राजपुर नगरपालिकाले ५० करोड २१ लाख ९३ हजार रुपैयाँको आय व्यय विवरण प्रस्तुत गरेको छ ।

त्यसैगरी, माधवनारायण नगरपालिकाले ५० करोड २९ लाख २० हजार रुपैयाँको वार्षिक बजेट सार्वजनिक गरेको जनाएको छ ।

स्थानीय तहहरूले पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी, सुशासन तथा सामाजिक सुरक्षालाई प्राथमिकतामा राख्दै आगामी आर्थिक वर्षका लागि बजेट तथा कार्यक्रम सार्वजनिक गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?