काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कसैको दया र मायाले माओवादी विगतमा सबैभन्दा ठुलो पार्टी नबनेको बताएका छन् ।
मंगलबार मोरङमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले कसैको दया र मायाले आफू तीन/तीन पटक प्रधानमन्त्री नबनेको भन्दै जनताको साथ र विश्वासले बनेको दाबी गरे । उनले बिचौलिया र भ्रष्टाचारीलाई संरक्षण गर्ने सरकारी रवैयाको विरोध र भण्डाफोर गर्न जरुरी रहेको पनि बताए । उनले आफू नेतृत्वको अघिल्लो सरकारले भ्रष्टाचारका विरुद्ध चलाएकै कारण सरकारबाट हट्नुपरेको बताए ।
अध्यक्ष दाहालले भने, ‘दलाल, बिचौलिया र भ्रष्टाचारीलाई संरक्षण गर्ने सरकारी रवैयाको विरोध र भण्डाफोर गर्न जरुरी छ । मलाई लाग्छ, नेपाली जनताले आम रुपमा बुझेको कुरा के छ भने यो सरकार जो बन्यो, मेरो नेतृत्वको अघिल्लो सरकारले भ्रष्टाचारका विरुद्ध चलाएको अभियान, चाहे त्यो राजनीतिक दलका नेताहरू होउन्,चाहे ठूला हाकिमहरू हुन्, चाहे भूमाफिया, बिचौलियाहरू हुन्, तिनीहरूको विरुद्ध अभियान चलाएकै हुनाले उनीहरूले नै पार्टीका नेताहरूलाई कन्भिन्स गरेर भनौँ, वा कडा भाषामा भन्दा किनेर, दलालहरूलाई खरिद गरेर र हामीलाई बाहिर पुर्याए । हामीलाई कसैले दया माया गरेर देशको ठुलो पार्टी बनाएको होइन, कसैले दया माया गरेर तीन तीन पटक प्रधानमन्त्री बनाइदिएको होइन । नेपाली जनताको भरोसा र विश्वास, त्याग र तपस्या, जनताका माग र मुद्दाप्रति लिएको अडानकै कारण जनताले पुर्याएको हो ।’
अध्यक्ष दाहालले जनतासँगको विश्वास गुमाउँदा माओवादीहरू अलि बिग्रिएको र अब त्यस्तो नहुने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया