अहिले कस्तो छ अर्थमन्त्री पौडेल र मेयर आचार्यको स्वास्थ्य अवस्था ?

लोकपथ
3.2k
Shares

काठमाडौं । हाइट्रोजन भरिएको बेलुनमा आगलागी भइ विस्फोट हुँदा घाइते भएका उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको अवस्था सुधारोन्मुख रहेको छ ।

जलनको उपचार हुने कीर्तिपुर अस्पताल प्रशासनले एक सूचना जारी गर्दै दुवैको अवस्था शनिबार भन्दा थप सुधार हुँदै गइरहेको जनाएको हो ।

पोखरा भ्रमण वर्ष २०२५ को उद्घाटन समारोहका क्रममा बेलुनमा आगो लागेर पड्किँदा दुवै घाइते भएका थिए । पोखरामा प्राथमिक उपचार गरी कीर्तिपुर अस्पताल ल्याइएको थियो ।

‘…हिजोदेखि सघन उपचार कक्षमा उपचारको लागि भर्ना हुनुभएकोमा रातभरी उहाँहरुको अवस्था सामान्य नै रहेको र हिजो भन्दा आज सुधारोन्मुख रहेको जानकारी गराइन्छ,’ अस्पतालका निर्देशक डा. किरण किशोर नकर्मीले बताए ।

त्यस्तै अनुहार, हात तथा शरिरका अन्य भागमा भएको घाउको अवस्था ड्रेसिङ भएपछि सार्वजनिक गरिने उनले बताए । साथै हाललाई अवस्था सामान्य रहे पनि संक्रमण हुने भएकाले हाललाई भेटघाट बन्द गरिएको छ ।

‘घाउको अवस्थाको बारेमा आज ड्रेसिङ भएपछि अद्यावधिक गरिनेछ र हाललाई अवस्था सामान्य भएतापनि संक्रमण हुने भएको हुँदा हाललाई भेटघाट अर्को सूचना नआएसम्म पूर्ण रुपमा बन्दा गरिएको छ,’ जारी सूचनामा भनिएको छ ।

उपप्रधानमन्त्री पौडेल र मेयर आचार्यको उपचारका लागि प्रा.डा विडी झा, डा. प्रविण गिरी लगायत सघन उपचार कक्षको टोली, प्रा.डा. शंकरमान राई, डा. विशाल कार्की, डा. मनिष यादव लगायतको जलन विशेषज्ञहरुको टोली उपचारमा खटिएका छन् । त्यस्तै डा. प्रयुस अर्याल लगायतका आकस्मिक उपचार टोली र रिना गौचन, निर्मल कुँवर तथा तृष्णा महर्जन लगायतको नर्सिङ टोलीले उनीहरुको उपचारमा सघाइरहेका छन् ।

उपप्रधानमन्त्री पौडेल र मेयर आचार्यको अवस्था बुझ्न राष्ट्रपति रामचन्द्र पौडेल समेत केहीबेरअघि अस्पताल पुगेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?